स्वास्थ्य

विश्व मधुमेह दिवस : स्वस्थ जीवनशैली नै बच्ने उपाय, खानपानमा सजगता अपनाउन जरुरी

काठमाडौं । आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थियो ।

यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो । फ्रेड्रिक ग्रान्टले चार्ल्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए । उनैको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रुपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ । यो अवस्थालाई नै मधुमेह भनिन्छ ।

आफूलाई मधुमेह भएको छ वा छैन भनेर परीक्षण पूर्व नै जानकारी हुन सक्छ । मधुमेह भएमा मुख सुख्खा हुने, पटक पटक पिसाब आउने, बढी तिर्खा लाग्ने, भोक धेरै लाग्ने, हातगोडा झम्झमाउने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखापर्ने वित्तिकै परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु पर्छ ।

मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अंग जस्तैः आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्‍याउन सक्छ । शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ । तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ । यो सरुवा रोग हाेइन तर यसलाई जेनेटिक रोगको रुपमा लिइन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ ।

मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वाथ्य संगठनको तथ्यांक छ । विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मुल कारण हो ।

मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । साथै दैनिक रुपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय हो ।

डायबिटीज अर्थात मधुमेहको बारेमा सबैको राय यो छ कि जसलाई हुने हो भएरै छाड्छ । तर विशेषज्ञ यो कुरालाई पूर्णतया मान्दैनन् । हार्वर्ड मेडिकल स्कूलकी प्रोफेसर डा. होप रिकीओटी भन्छिन्, प्रि-डायबिटीजलाई ठिक गर्न सकिन्छ ।

प्रि-डायबिटीज यस्तो अवस्था हो जब व्यक्तिको शरीरमा भएको ग्लूकोजलाई उर्जामा परिवर्तन गर्न सक्दैन । यसले सुगरको स्तर बढ्छ, तर यसलाई मात्र डायबिटीज भन्न मिल्दैन । यो अवस्था बढ्दै जाँदा रोगमा भने अवश्य परिवर्तन हुन्छ ।

डा. रिकीओटी भन्छिन्- सो समय आफ्नो तौललाई पाँचदेखि सात प्रतिशतसम्म कम गरे र खानपानलाई सुधार गरे डायबिटीजबाट लामो समयसम्म बचाउन सकिन्छ । उनी भन्छिन्- यस्ता व्यक्तिले हप्तामा कमसेकम १५० मिनेट एक्सरसाइज गर्नु पर्छ । खानामा फल, सब्जी, होल ग्रेन लिने, स्वास्थ्यकर खाना खाने, सुगर कम गर्नु पर्दछ । उसले स्वस्थ जीवनशैली अपनाउनु पर्दछ ।

स्वस्थ जीवनशैली डायबिटीजबाट बच्ने उपाय

मेसाचुसेट्स जनर हस्पिटलका फिजिशियन डा. मोनिका टेलाका अनुसार- २० वर्षको अध्ययनबाट स्वस्थ जीवनशैलीले डायबिटीजबाट बचाउन सकिने तथ्य निकालेको छ । उनीहरूका अनुसार, डायबिटीजको विरामी नयाँ भएपनि रिभर्स गर्न सकिन्छ ।

बेलायतमा भएको एक अनुसन्धानका अनुसार, नयाँ डायबिटीज विरामी भए, उनीहरुले लो क्यालोरी डाइटमा गए रोग ठिक गर्न सकिन्छ । यी तीन तरिकाको प्रयोगले डायबिटीजबाट बचाउन सकिन्छ ।

  1. डाइटबाट क्यालोरी घटाउनुहोस्,
  2. हप्ताको १५० मिनेट एक्सरसाइज गर्नुहोस्,
  3. १० प्रतिशत सम्म तौल कम गर्नुहोस् ।

यति गर्न सकिएमा रोगबाट डराउनु पर्दैन । प्रि-डायबिटीज हट्छ भने रोगीपनि नियन्त्रणमै रहन्छन् । तसर्थ यी कुरामा ध्यान दिऊँ ।

गाउँ सहर संवाददाता

तपाईँको मत