गाउँ सहर

लेखनाथ उद्योग वाणिज्य संघ २५ औं वर्षमा

लेखनाथ । वि. सं २०५४ साल असार २० गतेका दिन स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघले आईतवारदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । सुरुमा ८० जना साधारण सदस्यहरुबाट स्थापित संघले आईतवार आफ्नो २५ औं वार्षिकोत्सव तथा पुनर्मिलन कार्यक्रम समेत  सम्पन्न गरेको छ ।

संघ स्थापना गर्दाका संस्थापक सदस्य, पूर्व कार्यसमिति, विभिन्न उप समितिका संयोजक, सहसंयोजक तथा वर्तमान कार्यसमितिका विच पुनर्मिलन गराउँदै एक आपसमा अनुभव आदानप्रदान गराउँदै पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

स्वास्थ्यको लागि अपनाउनु पर्ने सम्पूर्ण विधि र सामाजिक दुरी कायम गरेर राखिएका टेवलमा बसेका आम सहभागीहरुले कोरोना महामारीका कारण मर्कामा परेका व्यवसायीहरुको हक हितका सवालमा संघले थप आवाज उठाउन सुझाव राखेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य  दिपक कोईरालाले कृषि प्रधान देश भन्ने तर कृषिका कच्चा पदार्थदेखि खाद्य वस्तु पनि आयात गर्नु पर्ने हाम्रो विडम्वनालाई अन्त्य गरी कृषि उत्पानको क्षेत्रमा लागानी वढाउन र उद्योग स्थापनामा जोड दिन आम व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विगतमा अग्रजले गरेको योगदानको उच्च कदर गरे भने संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना कालको ऐतिहासिक पक्षका वारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले स्वागत गर्दै व्यवसायिक हक हितका सवालमा संघ मार्फत आम व्यवसायीको पिर, मर्का देखि विधि र परिधिमा रहेर नेतृत्व हस्तान्त्रण गर्ने काममा लेखनाथ उद्योग वाणिज्य संघले उदाहरणीय काम गर्दै आएको दावी गरे ।

उक्त अवसरमा सस्ंथापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा जेष्ठ नागरिक पत्रकारिता पुरस्कार घोषणा गरिएको थियो । जेष्ठ नागरिकको क्षेत्रमा कलम चलाउने पत्रकारलाई हरेक वर्ष रु पचहत्तर हजार बरावरको जेष्ठ नागरिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ।

यही माघ महिना देखि आफू ७० वर्ष पुग्ने भएकाले राज्यबाट पाउने जेष्ठ नागरिक भत्तामा थप गरी जेष्ठ नागरिक तथा बृद्धाश्रमका बारेमा खोजमुलक लेख, रचना तथा समाचार प्रकाशन गर्ने पत्रकारलाई हरेक वर्ष संघको वार्षिक साधारण सभामा पचहत्तर हजार रुपियाँ रासिको पुरस्कार प्रदान गर्ने घोषणा उनले गरे । पुरस्कारको व्यवस्थापन तथा संचालनमा लेखनाथ  उद्योग वाणिज्य संघ रहने गरी पुरस्कारका सम्बन्धमा कार्यविधि नै बनाएर अगाडि बढ्ने र पहिलो पुरस्कार वि. सं २०७९ सालमा हुने संघको वार्षिक साधारण सभामा प्रदान गरिने भएको छ ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए । संघमा अहिले एक हजार सात सय पैँतालीस सदस्यहरु रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत