खेल

लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने

पोखरा। विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन र खेल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका–२७, रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा वार्षिक स्पोर्टस् मिट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

मंगलबार आयोजित उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बेलुन उडाएर स्पोर्टस् मिटको उद्घाटन गरे।

उद्घाटन गर्दै वडाध्यक्ष गुरुङले लिटल फ्लावर स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अनुशासित बनाउने र खेलकुदमा समेत सहभागी गराउने प्रयास गरेकोमा प्रशंसा गरे। उनले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीलाई प्रेरित गर्दै अनुशासित व्यक्तिका लागि भविष्यमा अवसरका अनेक ढोका खुल्ने धारणा व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ फुटबल प्रशिक्षक शम्भू केसीलगायत आमन्त्रित व्यक्तित्वहरूले शिक्षक सुरेश लामालाई बल हस्तान्तरण गरेपछि खेलकुद गतिविधि अगाडि बढाइएको थियो।

विद्यालयकी संस्थापक देवी प्रधान खड्काले स्पोर्टस् मिट केवल हारजितका लागि नभई विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि आयोजना गरिएको बताइन्। विद्यालयका प्रिन्सिपल विकल पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारे।

राइजिङ स्टार युवा क्लबका पूर्वअध्यक्ष विष्णुप्रसाद गुरुङ र वर्तमान अध्यक्ष तिलबहादुर गुरुङले कार्यक्रममा शुभकामना व्यक्त गरे।

दौडदेखि फुटबल र बास्केटबलसम्म प्रतिस्पर्धा

अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरुङका अनुसार सोमबारदेखि अनौपचारिक रूपमा सुरु भएको खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा सञ्चालन गरिनेछ।

प्रतियोगितामा विभिन्न दूरीका दौड, रिले, भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन तथा टेबलटेनिसलगायतका खेल समावेश छन्। विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ।

चार सदनको मार्चपास र सांस्कृतिक प्रस्तुति

उद्घाटन समारोहमा विद्यार्थीका चारवटै सदनले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। मार्चपासको मूल्याङ्कन विद्यालय व्यवस्थापन समिति (विव्यस) का सल्लाहकार इन्द्रबहादुर गुरुङ र अनिल गुरुङले गरेका थिए।

विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रमको सञ्चालन कक्षा ११ र १२ का संयोजक विष्णुहरि पौडेल तथा एकेडेमिक डिन विचित्र न्यौपानेले गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, आमन्त्रित अतिथि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत