खेल

एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार

काठमाडौं । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा टस जितेर पहिला बलिङ गरेको काठमाडाैँ चार विकेटले विजयी भएको हो ।

सुरुमा ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौँले दुई बल बाँकी हुँदा छ विकेटको क्षतिमा पूरा गरेको हो ।

काठमाडौँको जितमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले तीन छक्का र चार चाैका हिर्काए । उसका लागि रसिद खानले अर्धशतक बनाए। उनले ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।

अन्तिममा विष्फोटक ब्याटिङ गर्दै काठमाडाैँका जहानदाद खानले १० बलकाे सामना गर्दा दुई छक्का र एक चाैकाको मद्दतमा २२ रन बनाए । उसका लागि ओपनर डेबिड वार्नरले १० बलमा १६ रन बनाउँदा माेहमद आदिल आलमले २० रन थपे । स्मित पटेलले ९ रन जोड्दा भीम सार्की ५ रनमा आउट भए ।

काठमाडाैँविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी र हुसेन तलातले दुईदुई विकेट हात पार्दा मार्क वाट र नन्दन यादवले एकएक विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८० रन बनाएको थियो।

कर्णालीका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । २२ बलको सामना गर्दा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी हसन तलातले ३० बलमा ४० रन बनाउँदा पवन सरार्फले नटआउट ३० रन बनाए ।

त्यसैगरी कर्णालीका लागि गुल्सन झाले १२ बलमा दुई छक्काको मद्दतमा २० रन जोडे भने मार्क वाटले २० बल खेलेर १७ रन बनाए । आजको खेलमा दिपक डुम्रे भने ८ रन बनाउँदा आउट भएका थिए । कप्तान सोमपाल कामी दुई बलको सामना गर्दा १ रनमा सीमित भए ।

कर्णालीलाई सस्तैमा रोक्न काठमाडौँका कप्तान करण केसीले दुई विकेट हात पार्दा साहब आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एकएक विकेट हात पारे ।

कर्णाली यसअघिका दुई खेलमा जित निकाल्दै चार अंक जोडेर शीर्ष स्थानमा कायम छ । पहिलो खेलमा पराजित काठमाडौँले पहिलो जित निकाल्दै दुई अंक जोडेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत