गाउँ सहर

मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति

Photo: indulgexpress

काठमाडौँ। भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि उनले चीनका बाइटडान्स सहसंस्थापक चाङ यिमिङलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् ।

फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार रिलायन्सको सेयर मूल्यमा आएको उछालसँगै अम्बानीको सम्पत्तिमा एकै दिन ८ अर्ब ५० करोड अमेरिकी डलर थपिएको छ । यससँगै उनको कुल सम्पत्ति १०.५ प्रतिशतले बढेर ८८ अर्ब ८० करोड डलर पुगेको छ । उनी विश्वका धनाढ्यहरूको सूचीमा २३औँ स्थानमा उक्लिएका छन् ।

यसअघि एसियाका सबैभन्दा धनी व्यक्ति रहेका चाङ यिमिङको कुल सम्पत्ति ८४ अर्ब डलरमा सीमित भएपछि उनी विश्व सूचीको २५औँ स्थानमा झरेका छन् ।

रिलायन्स इन्डस्ट्रिजले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विश्लेषकहरूको अनुमानभन्दा बढी आम्दानी गरेपछि कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । विश्लेषकहरूले कम्पनीको आम्दानी २ अर्ब ३० करोड डलर हुने अनुमान गरेका थिए । तर कम्पनीले २ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो । त्यसपछि सोमबार भारतीय सेयर बजारमा रिलायन्सको सेयर मूल्य झण्डै १२ प्रतिशतले बढेको थियो । यसबाट कम्पनीको बजार पुँजीकरणमा मात्रै १९ अर्ब डलरभन्दा बढी थपिएको थियो ।

कम्पनीको उत्कृष्ट वित्तीय नतिजापछि ब्रोकरेज संस्था एभेन्डस स्पार्कले रिलायन्सको सेयरसम्बन्धी आफ्नो रेटिङसमेत बढाएको छ । ब्लुमबर्गका अनुसार सन् २०१७ पछि पहिलोपटक कुनै पनि विश्लेषकले रिलायन्सको सेयर बिक्री गर्न वा होल्ड गर्न सिफारिस गरेका छैनन् ।

सन् १९५७ मा धीरूभाई अम्बानीले स्थापना गरेको रिलायन्स इन्डस्ट्रिज पेट्रोकेमिकल्स, तेल तथा ग्यास, दूरसञ्चार, खुद्रा व्यापार, सञ्चारमाध्यम र वित्तीय सेवासम्म फैलिएको छ । करिब १७० खर्ब भारतीय रुपैयाँ बजार पुँजीकरण रहेको रिलायन्स भारतकै सबैभन्दा मूल्यवान् कम्पनी हो ।

अम्बानीको सम्पत्ति वृद्धिमा रिलायन्सको डिजिटल तथा दूरसञ्चार क्षेत्रको सहायक कम्पनी जियो प्लेटफर्म्सको सेयर बजार प्रवेशले पनि योगदान पुर्‍याएको छ । अक्टोबरको अन्त्यतिर नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत भएको जियोको सेयर पहिलो कारोबार दिनमै २७ प्रतिशतले बढेको थियो ।

करिब १०६ अर्ब डलर मूल्यांकनमा ३ अर्ब २० करोड डलर पुँजी जुटाएको जियोको आईपीओ भारतकै इतिहासमा सबैभन्दा ठूलो बनेको छ । ५३ करोड ३० लाखभन्दा बढी ग्राहक रहेको जियोमा रिलायन्सको करिब ६६ प्रतिशत स्वामित्व छ ।

यद्यपि, रिलायन्स समूहकै अर्को कम्पनी जियो फाइनान्सियल सर्भिसेजको वित्तीय नतिजा भने कमजोर देखिएको छ । खर्चमा तीव्र वृद्धि भएपछि सेप्टेम्बर त्रैमासिकमा कम्पनीको एकीकृत खुद नाफा ५१ प्रतिशतले घटेर ३४० करोड ४४ लाख भारतीय रुपैयाँमा सीमित भएको छ । तर सोही अवधिमा कम्पनीको कुल आम्दानी भने करिब ७० प्रतिशतले बढेर १ हजार ६९९ करोड ४१ लाख भारतीय रुपैयाँ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत