राजनीति

आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थी अग्रसर हुनुपर्ने

काठमाडौँ । आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थी अग्रसर हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

‘पछिल्लो परिवर्तनपछि राजनीतिक मुद्दा सकियो, देश अब आर्थिक प्रगतिमा अघि बढ्छ भन्ने उद्घोष गरिएको थियो तर ती सब मिथ्या साबित भएका छन्,’ राप्रपा अध्यक्ष लोहनीले सोमबार भने । ‘त्यसैले आर्थिक समृद्धि प्राप्त गर्न, रोजगारी सिर्जना गर्न, स्थायित्व हासिल गर्न युवा विद्यार्थीहरु सक्रिय हुनु परेको छ । सकारात्मक परिवर्तनको पक्षमा शिक्षित तरुणहरु उभिन जरुरी भएको छ ।’

अमेरिकामा काला र गोरा जातिबीचको भेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न लाग्दा विरोध गर्ने सन्दर्भ होस् विश्वविद्यालयहरुबाट शिक्षित वर्ग जुर्मुराएका थिए । त्यसैगरी नेपालमा पनि देश बनाउने, भविष्य बनाउने जिम्मेवारी शिक्षित युवाहरुमा आइलागेको लोहनीले भने ।

अध्यक्ष लोहनीले युवा पुस्ताकै बलमा राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम गर्ने दाबी गरे । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) द्वारा आयोजित उपत्यकास्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो विचार प्रस्तुत गरेका हुन् ।

राप्रपाका वरीष्ठ नेता दिपक बोहराले एक ढिक्का भएर देशलाई अधोगतिबाट जोगाउनु पर्ने जिम्मेवारी आइलागेको बताए । नेता जगत गौचनले विदेशी डिजाइन अुनरुपको बाह्र बुँदेको मार्गचित्र सच्याउनु पर्ने, आवश्यक परे नयाँ क्रान्ति गरेर राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने बताए ।

नेता श्याम तिमल्सिनाले राप्रपा प्रजातन्त्रमा अभ्यस्त पार्टी भएकोले कार्यकर्ता व्यक्तिको नभएर संगठन र सिद्धान्तको पक्षपाती रहने बताए । झुण्डको बलमा पार्टीलाई अब पनि कसैले बन्दी बनाउने कुचेष्टा गरे, त्यस्ता प्रवृति समाप्त हुने बताए । हिंसा, बलात्कारका घटनातर्फ इंगित गर्दै किशोरीहरु असुरक्षित रहनु चिन्ताको विषय भएको नेता राजाराम श्रेष्ठले बताए ।

कम्युनिष्ट र कांग्रेसले शैक्षिक क्षेत्र तहसनहस बनाएको राप्रविसं (संयुक्त) का अध्यक्ष धनशुर शाहीले आरोप लगाए । स्ववियु निर्वाचन हुन नसकेको, अव्यवहारिक सेमेष्टर प्रणाली लागू गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘स्ववियु निर्वाचन गर्न नसक्ने सरकारले आम निर्वाचन सम्पन्न गर्छ भनेर कसरी विश्वास गर्ने,’ शाहीले प्रश्न गरे ।

राप्रविसं (संयुक्त) का उपाध्यक्ष नवीन लामिछाने र कोषाध्यक्ष मदन शाहीले विद्यार्थीको हकहित र राष्ट्रियता जगेर्ना गर्न कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता जनाए ।

गाउँ सहर संवाददाता

तपाईँको मत