गाउँ सहर

हाजिर जमानीमा रिहा भए राप्रपाका सांसद धवलशमशेर राणा

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उपचार प्रयोजनका लागि आइतबार साँझ रिहा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

धवलशमशेर क्यान्सरका बिरामी हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिइएको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ ।

उनले महामन्त्री डा. राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिइ ढिलै भए पनि हाजिर जमानीमा रिहा गरिनु स्वागतयोग्य रहेको बताएको छ । "राप्रपा महामन्त्री डा. धवलशमशेर राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिइ ढिलै भए पनि हाजिरी जमानीमा रिहा गरिनु स्वागतयोग्य छ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य देशभक्तहरूलाई अझै पनि थुनामा राखिराख्नु अन्यायपूर्ण र नाजायज छ," प्रवक्ता श्रेष्ठले भने ।

गएको चैत १५ गते राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै तीनकुनेमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए ।

तपाईँको मत