स्वास्थ्य

२ महिनादेखि स्वास्थ्यकर्मीविहीन स्वास्थ्यचौकी

सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झन्डै २ महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ । ७ जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्यचौकीमा १ जना कार्यालय सहयोगीको भरमा काम सञ्चालन गरिदैँ आएको छ । 

मंसिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए १, अनमी २, अहेब २ र कार्यालय सहयोगी १ गरेर ७ जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कुनै पनि  स्वास्थ्यकर्मी उपस्थित नभएको स्थानीयवासीले जानकारी दिएका छन् । 

कार्यालय सहयोगी रोकायाले सिटामलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले २ महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको स्थानीयवासीको गुनासो छ । 

गाउँमा बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका र कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गरेका छन् । उनले भने, ‘‘म आँखाको बिरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै फिर्ता भएको छु, केही महिना अगाडि १ जना एचए सरुवा भएर गए ।’’ दरबन्दीअनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तिएको उनको गुनासो रहेको छ ।

२ जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । २ करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित भएका छैनन् । कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत