स्वास्थ्यमन्त्री बस्नेतकाे आराेप : डा. केसी माफियाद्वारा सञ्चालित, पछि लाग्ने स्वास्थ्यकर्मीलाई कारबाहीकाे चेतावनी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शनिबार, २०८० | १९:०४:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा. गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित भएको बताएका छन्।
वरिष्ठ चिकित्सक केसीले वेलावेला अनशन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोहजस्ता गलत मान्छेको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत गराए। उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए।
नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाले त्यसो हुन नदिन मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो।
मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शय्या भएका सरकारी अस्पतालमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए।
राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त प्रस्ताव देश र जनताको हितका लागि अत्यावश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पटकपटक आग्रह गरे।
मन्त्री बस्नेतले भने, ‘अहिलेको हिसाबले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइँदैन। मेरो प्रस्ताव कार्यान्वयन गर्न गाह्रो पनि छैन। यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरू संसारभर हामी पठाउन सक्छौँ। हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मेडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहिँ भोकमरीमा पर्नेछौं। मैले क्याबिनेटमा यो कुरा लगेँ। मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ? त्यहाँबाट खेल्न थाल्छन्। आधारभूत स्वास्थ्य सेवा जनतालाई दिनका लागि यो आवश्यक छ।’
उनले केसीले अनशन बस्ने धम्की दिने गरेको र त्यसका पछि सेतो कोट स्वास्थ्यकर्मीले साथ दिने गरेको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘यो देश र जनताका लागि अहित छ। तपाईं आफू ठिक मान्छे हो तर तपाईंलाई सञ्चालन गर्ने गिरोहहरू गलत छन् भनेर भन्न किन नसक्ने ? यो अभियान अगाडि बढ्दा तपाईंहरू ओल्टेकोल्टे हुन थाल्यो भने तपाईंहरूलाई पनि कारबाही हुन्छ। म तपाईंका लागि भिड्ने अनि तपाईंले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईंहरूलाई अनुरोध गरेँ।’
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
प्रतिकृया दिनुहोस