सञ्चार

पत्रकारिता पेसालाई थप मर्यादित बनाउन सञ्चार मन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता पेसालाई थप मर्यादित बनाउन आग्रह गरेका छन् ।

आज काठमाडौँमा क्रियाशील दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन उद्घाटन गर्दै मन्त्री गुरुङले दुई तिहाइ बहुमतको सरकारलाई काम गर्न नदिएर बन्दी बनाउन खोजेपछि जनतामा जाने निर्णय गरेको सन्दर्भलाई पत्रकारहरूले असंवैधानिक भन्नु गलत भएको बताएका छन् ।

केही पत्रकार र सञ्चार माध्यमले प्रेस स्वतन्त्रताको नाममा समाजमा अराजकता निम्त्याइ द्वन्द्व सिर्जना गर्ने काम गरिरहेको भन्दै मन्त्री गुरुङले सडकमा जानेहरूले पनि यतिखेर निर्वाचनको माग गरेको बताए ।

प्रचण्डले माधवकुमार नेपालको  ढाँडमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीको टाउकोमा हान्ने रणनीति असफल भइसकेको  बताउँदै मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीलाई  निर्वाचनको पक्षमा कलम  चलाउन आग्रह समेत गरे ।

नेपाल पत्रकार महासङ्घले संसद् विघटनलाई असंवैधानिक भन्दै वक्तव्य निकालेको प्रति सङ्केत गर्दै उनले पत्रकारहरूलाई सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरी राजनीतिक द्वन्द्व अन्त्य हुने गरी कलम चलाउन आग्रह गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत