समाज

प्रतिबन्धित रकमसहित भारतीय युवक पक्राउ

विराटनगर । प्रतिबन्धित रकम सहित नेपाल आएका भारतीय युवक पक्राउ परेका छन् । भारतको बिहार अररीयाका एक युवकलाई अवैध भारतीय रकमसहित विराटनगरस्थित प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बेलुका २५ वर्षीय युवक सुजित कुमारलाई ५ सय दरका ५२ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

कार्यालयक प्रहरी निरीक्षक दीपक थापाका अनुसार विराटनगर र भारतीय सीमा विराटनगर महानगरपालिका १७ मटेरुवामा शंका लागेर जाँच गर्ने क्रममा पक्राउ परेका युवकबाट ५ सय दरका १ सय ४ वटा भारतीय नोट बरामद गरिएको थियो। नेपालमा भारतीय पाँच सय दरका नोटमा प्रतिबन्ध छ ।

प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको पाइएपछि पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् ।

प्रहरीले नाका सिल भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने आशंका गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत