गाउँ सहर

विनोद चौधरीमाथि अनुसन्धान थालेपछि सीआईबीद्वारा सभामुखलाई लिखित पत्र

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ । सीआईबीले अनुसन्धान अघि बढाएपछि सभामुखलाई पत्र लेखी चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो ।

पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएको थियो  । 

सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

बाँसबारी छालाजुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसदलाई जानकारी गराएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत