गाउँ सहर

प्रहरीद्वारा विस्फोटक पदार्थ बरामद

सङ्खुवासभा । प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको हो ।

प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो ।

प्रहरीले घटनास्थलबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच÷छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको थियो ।

त्यस्तै टेन्ट, सेफ्टी फ्युज लगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् ।  आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो ।

भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ । भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ ।

मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत