गाउँ सहर

नेपालगञ्जमा स्राेत नखुलेकाे डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ

  • २८ फाल्गुण सोमबार, २०८० | १८:०२:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए ।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

एसपी बोहरा भन्छन्, ‘बरामद पैसाको स्रोत खुलेको छैन, केको पैसा हो भन्नेबारे अनुसन्धान थालेका छौं ।’

तपाईँको मत