समाज

बालिका बन्धक बनाई बलात्कार गर्नेलाई १९ वर्ष कैदको फैसला

सप्तरी । बालिका बन्धक बनाई बलात्कार गर्नेलाई १९ वर्ष कैदको फैसला भएको छ । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्‍याएर बन्धक बनाई बलात्कार गर्ने एक जनालाई १९ वर्ष चार महीना कैद सजायको फैसला भएको हो ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले ती किशोरलाई जबर्जस्ती करणीमा आठ वर्ष कैदको फैसला सुनाएको छ।

त्यसैगरी, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महीना कैद र रु ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष आठ महीना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको छ। उनले पीडितलाई एकुमष्ठ रु ५० हजार क्षतिपूर्ति समेत तिर्नुपर्ने फैसला अदालतले गरेको छ ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर, थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ। उनी बालबालिका समूहमा पर्ने भएकाले दुईतिहाइ कैद सजाय हुने तर, जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन् ।

ती किशोरले ५ मंसीर २०७५ मा गाउँबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेका थिए। उनीविरुद्ध पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ३ पुस २०७५ मा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई त्यसको भोलि पक्राउ गरेको थियो। पक्राउ परेका किशोरलाई सप्तरी जिल्ला अदालतले २८ पुस २०७५ मा बाल सुधारगृह पठाउने आदेश गरेको दिएको थियो।

गाउँ सहर डेस्क

तपाईँको मत