दृष्‍टिकोण

माघे संक्रान्ति, घुघुतिया पर्व र समाज मनोविज्ञान

‘पुषमा पाक्य माघमा खाक्य’

प्रत्येक वर्ष माघ १ मा माघे संक्रान्ति विशेष रुपमा धुमधामका साथ मनाइन्छ । सांस्कृतिक विविधातापूर्ण हाम्रो समाजमा विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् । थारु समुदायले मगर र आम नेपालीले मनाउने पर्व मनाउँदैछन् । ज्योतिषशास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सूर्यको कर्कट राशि  र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिनलामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । आजको दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ ।

माघ स्नान र मानसिक सुस्वास्थ्य
माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । स्वर्गलोकको इच्छा पूरा गर्नको लागी माघ नै पुण्य स्नानको समय उपयुक्त मानिन्छ । शास्त्र र पुराणमा उल्लेख गरे अनुसार पुष महिनाको पूर्णिमा देखि माघ महिनाको पूर्णिमा सम्म पवित्र नदीहरुमा नर्मदा, गंगा, यमुना, सरस्वती, कावेरी सहित अन्य जीवनदायनी नदिहरुमा स्नान गरेमा मानिसले गरेका पापाहरु बाट छुटकारा मिलेर स्वर्ग लोकारोहणको मार्ग प्रसस्त हुन्छ । यसैले आजको दिन देवघाट, महाकाली नदिका पेचेश्वर लगाएतका विभिन्न स्थनमा त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । गौनान (मेलामा स्नान), पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजापाठ गरेर यो पर्व मनाउने गरिन्छ । खासगरी वैतडीको पंचेश्वर, डडेल्धुराको परशुराम धाम,चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावती लगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

थारु समुदायमा माघी र सांस्कृतिक लचकता
थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईरहेका छन् । थारु समुदायले थारु संवत २६४३ को स्वागतका लागि गाउँटोल सजाएका छन् । माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन् । माघीमा थारू जातिको मौलिकपकवान ढिक्री, मासु, जाँड लगायतका परिकार खाने र खुवाउने गरिन्छ ।

मघौटा, धमार झुम्रा नाँचमा रमाउन थारु समुदाय आतुर छन् । काम विशेषले बाहिर रहेका थारु समुदायका मानिस जन्मथलो पुग्न थालेका छन् । माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटा लगायत खानाका परिकारहरु खाने चलन रहि आएको छ । ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । मघौटा नाच दाङ र कैलालीका थारु समुदायले नाच्ने गर्छन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

घुघुतिया पर्व र सांस्कृतिक लचकता
मकर संक्रान्तिमा सुदुरपश्चिमका पाहाडि जिल्लाहरु र उत्तराखंड राज्यको कुमाऊँमा “घुघुतिया” पर्व भनेर मनाइन्छ । यो सुदुरपश्चिमका पाहाडि जिल्लाहरु र कुमाऊँकै सब भन्दा ठूलो उत्सव मानिन्छ र यो एक स्थानीय चाडको साथै स्थानीय लोक चाड पनि हो किनकि यस दिनमा विशेष प्रकारको खाना बनाइन्छ । यो उत्सव उत्तराखंडमा “उत्तरायणी” को रूपमा मनाइन्छ र गढवालमा र पूर्वी उत्तर प्रदेशमा “खिचडी सक्रान्ति” को रूपमा मनाइन्छ । पशु चरा सम्बन्धी धेरै चाडपर्वहरू संसारमा मनाइन्छ, तर कागलाई कौवाको विशेष व्यंजन खुवाउने यो अनौठो उत्सव सुदुरपश्चिमका पाहाडि जिल्लाहरु र उत्तराखण्डको कुमाऊँबाहेक अरू कतै मनाइँदैन । त्यस दिन वालवालीका विहानै स्नान गरेर कौवाको विशेष व्यंजन खुवाउने गर्दछन् । त्यसो न गरी आफुले भोजन गरे गलगाड हुन्छ भनेर भन्ने चलन छ । काले कौवाका आएर घुघुती (विशेष पकवान) , बड़ा (मासको पकवान), माणाको (चामलको पकवान), खाले, भनेर गीत गाउने चलन छ ।

माघे संक्रान्ति र खानपान
यो पर्व पोषिला खानेकुरा खाएर मनाउने गरिन्छ । घ्यू–चाकु, तिलको लड्डु र तरुलखाएर यो पर्व मनाइँदै छ । यस दिन तिलको लड्यु, ध्यू, चाक्कु, पेडा, सख्खरखण्डा, तरुलका परिकार खाने चलन छ । त्यस्तै खिचडी पनि माघे संक्रान्तिको विशेष परिकार हो । ‘पुषमा पाक्य माघमा खाक्य’ पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिनमाघे संक्रान्तिका दिन खाने माघीको प्रमुखः विशेषता हो । खाने पिउने र रमाइलो गर्ने चाडको रुपमा माघे संक्रान्तिलाई लिइन्छ । यीबाहेक ठाउँ, जाती तथा समुदाय विशेष विविध परिकारहरु समेत खाने गरिन्छ ।

गोरु जुधाएर माघे संक्रान्ति
नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति मनाउने चलन छ । बाजा गाजासहित जय पृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कार स्वरुप माघे संक्रान्तिका दिन गोरु जुधाइएको किंवदन्ती छ । त्यसै दिनदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको भनाइ छ । नुवाकोटको तारुकामा गोरु जुधाएर माघे सङ्क्रान्ति मनाइन्छ । माघे सङ्क्रान्तिका अबसरमा यहाँ वर्षेनी गोरु जुधाइन्छ । नुवाकोट, माघी पर्व र गोरु जुधाइ प्रतियोगिताको ऐतिहासिक सम्बन्ध रहेको छ ।  नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुँदै आएको बताइन्छ । यद्यपी यो चलन कहिलेबाट शुरु भयो भन्ने ठोस इतिहास भने कतै भेटिँदैन । इतिहासलाई हेर्दा विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग यो परम्परा जोडिएको नजिर छ । तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जय पृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको पनि बताइन्छ ।

पर्व सांस्कृतिक, मानसिक लचकता र सांस्कृतिक समाज मनोविज्ञान
मानिस एक सामाजिक प्राणी हो ।  आफ्ना विविध आवश्यकताको लागि, व्यक्ति अन्य व्यक्तिहरू, समूहहरू, समुदायहरूसँग अन्तरक्रिया सम्बन्ध स्थापित गर्दछ । व्यक्ति र समाजको व्यवहार बीचको गहिरो सम्बन्ध छ । सदस्यहरू बीच म्युचुअल सम्बन्धहरू उनीहरूको आपसी व्यवहारमा निर्भर हुन्छन् । मानिसको विचार, व्यवहार र कार्यले एक अर्कामा असर गर्छ ।

नेपाली समाज बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषता युक्त देश भएको हो । पर्वको मनोवैज्ञानिक महत्व रहेको छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्ने मनको गुण वा क्षमतालाई मानसिक लचकता भनिन्छ । सांस्कृतिक लचकता भएको व्यक्तिले क्षमता अनुसारको योजना बनाई त्यसलाई पूरा गर्ने दृढता, सकारात्मक सोचका साथ आफ्नो क्षमता र सीपप्रति विश्वस्त हुनसक्ने, प्रभावकारी सञ्चार गर्न सक्ने, जस्तोसुकै समस्या समाधान गर्न सक्ने, विभिन्न विचारका कारण आइरहने उतार—चढाव नियन्त्रण गर्न सक्ने, प्रतिकूल अवस्थाबाट बाहिर निस्कनका लागि धैर्यधारण गर्न सक्ने क्षमता हुन्छ । सबैमा सांस्कृतिक र मानसिक लचकता वृद्धि गर्न माघीले सहायता गरेको हुन्छ ।  हरेक जातिले मनाउने मौलिक पर्वहरु प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । समुदायको मौलिक संस्कृति र भेषभुषाको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । पर्वले समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध समाज बनाउन प्रेरणा दिन्छ ।

हाम्रो नेपाली सांस्कृतिमा चाडपर्व, धर्म, जातीय विश्वास र कूल देवता सम्बन्धी धारणाका कुराले मानसिक लचकता निर्माणमा भूमिका खेल्छ । सांस्कृतिक र मानसिक लचकताको क्षमताका कारण व्यक्तिले, जीवनमा आइपर्ने असामान्य परिस्थिति, पीडा, दुःख आदिको सजिलै सामना गर्न सक्दछ । यस्ता व्यक्तिको जीवनमा नकारात्मक प्रभाव हुँदाहुँदै पनि त्यस्ता प्रभावलाई सजिलै सामान्यीकरण गर्ने क्षमता राख्दछ ।

माघी पर्वकाे बेला गाइने विभिन्न विधाका गीत/संगीत गाउँदा आभिव्यक्त गर्न न पाएका मनमा भएका कुन्ठा, दमित इच्छा चाहना र आकांक्षाहरु आभिव्यक्त गर्ने भएकाले पनि मानोवैज्ञानिक राहत महसुस गर्दछन् । जसले मानसिक समस्याको जोखिम कमगर्न सहयोग पुग्छ । मनोविमर्शको सशक्त माध्यम संगित चिकित्सा, साइकोड्रामा, सोसियोमेट्र, सोसियोग्राम, र समुह चिकित्साका सम्पूर्ण विधाको संयोजन भएको हुन्छ । यस विधामा पश्चिमा मानोचिकित्सा विधिको अनुप्रयोग गरेर अध्ययन अनुसन्धान गर्दा मानसिक समस्याप्रतिको लाञ्छना पनि कम गर्न सकिन्छ ।

 

तपाईँको मत