मानसिक समस्यामा हुँदा मनाेवद् एवम् चिकित्सकसँग परामर्श लिऔँ
- डा. नरेन्द्र सिंह ठगुन्ना
- २४ भदौ आइतबार, २०८० | ०८:३०:०० मा प्रकाशित
आज विश्व आत्महत्या रोकथाम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन् । विश्व स्वास्थ्य संगठनको अनुसार मानसिक स्वास्थ्य भन्नाले त्यो अवस्थालाई जनाउँछ जब ब्यक्तिले आफ्नो क्षमता महशुस गर्छ, जीवनमा आईपर्ने सामान्य तनावहरुसँग सामना गर्नसक्छ, पुर्ण रुपमा उत्पादनशील भएर काम गर्नसक्छ र आफ्नो समुदायमा केहि योगदान गर्न सक्षम हुन्छ ।
१५–२४ वर्षकोकिशोर र युवावस्था हो साथै संक्रमणकालीन अवस्थाको उमेर पनि हो । यस उमेरमा तनाव, अत्यास, किंकर्तव्यविमूढता, जिम्मेवारीबोध, कर्तव्याकर्तव्य व्याकुलता सबैको सम्मीश्रण हुन्छ । शारीरिक परिवर्तन, रासायनिक (हर्मोन) उतार–चढाव, मनोवैज्ञानिक अस्तव्यस्तता, घरको दायित्व, पेसागत चुनौती, साथी–संगतीमा बढोत्तरी एवं समूह–निर्माण अनि विपरीत लिंगीप्रतिको आकर्षण– प्रेम सम्बन्ध आदि सुरुवात हुने समय हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५ मा १ युवा कुनै न कुनै मानसिक रोगबाट पीडित छन । विश्वभरका करिब २० प्रतिशत बालबालिका र किशोर–किशोरी मानसिक समस्याबाट पीडित छन् भने करिब ५० प्रतिशत मानसिक रोग जीवनको १४ वर्ष उमेरमै सुरु हुन्छ । करिव ४ प्रतिशत स्वास्थ्य बजेट त्यस्ता समस्याका लागि खर्च भइरहेको छ । विकसित देशमा पनि ७० प्रतिशत युवा तथा बालबालिकाले समयमै मानसिक रोगको सही उपचार पाएका छैनन् ।निदान योग्य मानसिक स्वास्थ्य समस्याको २५ प्रतिशत युवाहरू मात्र उपचारको पहुँच प्राप्त हुन्छ भने एक युवा मानसिक रोगको बीमार भएको औसत १० बर्षको ढिलाइमा मात्र स्वास्थ्यको परीक्षण र उपचार प्राप्त गर्दछ।विश्वभरिमा अपाङ्गता हुनाका प्रमुख कारणमध्ये मानसिक रोग र लागू पदार्थका दुव्र्यसनी बढी छन् ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । गएको वर्ष नेपालमा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । त्यसको मुख्य कारण डिप्रेसन, लान्छना, लैंगिक पहिचानका समस्या अनि हेपाइ (बुलिइङ) आदिले युवा वर्गको आत्म सम्मानमा पार्नसक्ने प्रभाव ले नेपालमा आत्महत्याको दर बढेको हुन सक्छ । विभिन्न अध्ययनहरुले देखाए अनुसार ८३ प्रतिशत हेपाइ (बुलिइङ) प्रभावित युवाहरू भन्छन् कि हेपाइ (बुलिइङ)ले उनीहरूको आत्म(सम्मानमा नकारात्मक असर परेको छ । ८० प्रतिशत युवाहरू भन्छन् कि परीक्षाको दबावले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । १५ देखि १९ वर्षका युवाको मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या देखिएको छ ।‘डिप्रेसन’लाई युवामा रोगहरूको कारणले हुनसक्ने असमर्थताको तेस्रो ठूलो कारकतत्त्व मानिएको छ । साथी समुहको दवावमा मद्यपान एवं लागुपदार्थ दुव्र्यसनको सुरुवात हुने समय पनि यही हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष आत्महत्याका कारण विश्वमा ७ लाखभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । झण्डै ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको छ । मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या हुने गरेको पाइएको छ । नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । किशोर–किशोरीमा मानसिक समस्या पाइनुले बेलैमा सजग हुन नसकेमा भोलि मुलुकमा मानसिक रोगको भयावह स्थिति आउनसक्ने देखिन्छ ।
मानसिक रोगका कारण
- मस्तिष्कमा पाइने विभिन्न रासायनिक पदार्थले असर गरेमा त्यस्ता रसायनले मस्तिष्क तथा शरीरका अरु अंगमा समेत संकेत ल्याउन सक्छ। त्यस्ता रसायनमा स्नायु सञ्जालमा मिलेमा सुस्त मनोदसा (डिप्रेसन) आउन सक्छ
- युद्ध तथा प्राकृतिक प्रकोपले मानसिक समस्यालाई बढावा दिन्छ
- जैविक तत्वहरु अन्र्तगत वंशाणुगत कारण, टाउकोमा चोटपटक , दिमागमा रसायनिक तत्वको असन्तुलन आदि पर्दछ । लागू पदार्थका दुव्र्यसनीमा लागेका
- सामाजिक तत्वहरु वा जीवनका तनावहरु जस्तै बेरोजगारी, नजिकको/प्रिय व्यक्तिको मृत्यु, आर्थिक समस्या, एक्लोपन, वैवाहिक जीवनमा तनाव, बाझँोपन, आघात, त्यस्तै आप्रवासन, शरणार्थी जीवनआदिले पनि मानसिक समस्या बढाँउछ
- पारिवारिक पृष्ठभुमी ः कुनै व्यक्ति जसले आफ्नो वाल्यकालमा आघात, भावनात्मक रुपमा वेवास्ताले गर्दा नरमाईलो अनुभव गरेको छ त्यस्तो व्यक्तिलाई पछि मानसिक समस्या जस्तै उदासिनता र चिन्ता रोग देखा पर्ने सम्भावना वढी हुन्छ
- युद्ध तथा प्राकृतिक प्रकोपले मानसिक समस्यालाई बढावा दिन्छत्यस्तै आतंककारी गतिविधि अनि तीव्र औद्योगिकीकरणका दुष्प्रभाव आदिले युवा वर्ग प्रभावित छ
- इन्टरनेटर सामाजिक सञ्जालको तीव्र विकासका कारण बढ्दै गइरहेको साइबर वुलिङ्ग गतिविधिले युवामा नकारात्मक प्रभावित हुन्छ । बेरोजगारी, आप्रवासन, शरणार्थी जीवन सबैले युवा वर्गलाई परिलक्षित गर्छन
- मानसिक समस्या जटिल रोगमा परिणत हुन्छ र एक्लै कोठामा थुनेर राख्ने, दाम्लो, सिक्री वा अन्य तरिकाले जीवनभरि बन्धनमा राख्ने गरिन्छ
- नेपालमा मानसिक समस्याहरु देखिएमा लुकाएर राख्ने, मनोवैज्ञानिक उपचार नगर्ने, र धामीझाँक्रीलाई देखाउने प्रचलन छ । फलस्वरुप
मानसिक रोगका लक्षणहरु
- उदासीपन आउनु वा निष्क्रिय रहनु
- धेरै या थोरै खाना खानु
- कुनै काम गर्न नरुचाउनु र थकाई महसुस गर्नु
- एकहोरो टोलाइरहनु, असामान्य व्यवहार गर्नु
- अधिक डराउनु चिन्तीत हुनु, साथीभाइबाट टाढिन खोज्नु र कसैको मतलब नगर्नु
- विनाकारण अत्यधिक रिसाउनु,आत्महत्या गर्न प्रोत्साहित हुनु,परिवार तथा आफन्तसँग भ्रमपूर्ण व्यवहार गर्नु
महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा. गौतमको तर्क छ । देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ । सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया: मनोरोग अर्थात् डिप्रेसन नै कारक देखिन्छ । मानसिक बिरामीप्रति सामाजिक कुसंस्कारविरुद्ध विश्वव्यापी स्वास्थ्य शिक्षा, जनचेतना र बहस पैरबी बढाउनु दिवस मनाउनुकाे प्रमुख उद्देश्य हो । न्यून तथा मध्यम आय भएका देशमा मानसिक रोगको उपचार गर्ने दक्ष जनशक्ति तथा समाजिक कार्यकर्ताको अत्यन्त कमी र असमान उपलब्धता पाइएको छ ।
मानसिक रोगको रोकथाम र मानसिक स्वास्थ्य प्रवर्धन
विश्व स्वास्थ्य संगठनका १ सय ९४ सदस्य राष्ट्रमध्ये १ सय ७७ राष्ट्रले २०१३–२०३० सम्मको १७ वर्षका लागि संयुक्त मानसिक रोग नियन्त्रण कार्य योजना तर्जुमा गरेका छन । नेपालले स्वास्थ्य नीतिमा मानसिक रोग न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । साथै, राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण केन्द्रमा मानसिक रोग विभाग स्थापना गरेको छ। नेपालको संविधानमा पनि मानसिक रोगको दफा उल्लेख भएको छ भने सबै स्थानीय स्वास्थ्य संस्थाबाटै आधारभूत मानसिक स्वास्थ्य तालिम दिन थालेको छ।
मानसिक समस्यालाई मनोवौज्ञानिक, मनोचिकित्सा विधिद्वारा उपचार गर्न मनोविद्, मनोचिकित्सक, मनोविर्मशकर्ता र मनोस्वास्थ्यकर्मीका र नागरिक समाज एवं मिडियाकर्मीले सहकार्य गर्नुपर्छ ।मानसिक समस्या लान्छाना, लोकलज्जा र चेतनाको अभावले लुकाइएका हुन सक्छन त्यसैले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । मानसिक समस्यालाई अन्य शारीरिक रोगलाई झैं यथेष्ट ध्यान दिन जरुरी छ । मानसिक रोगको सुरुवात प्रायः युवावस्थामै सुरु हुन्छ । प्रारम्भिक अवस्थामै पहिचान हुनसके त्यसको दीर्घकालीन असरबाट तिनलाई जोगाउन सकिन्छ । युवाहरुमा मानसिक रोग लाग्न नदिनु वुद्धिमानि होतसर्थ बाबुआमा र अभिभावक, अग्रज, शिक्षक वर्गमा चेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनसके मानसिक समस्याको न्युनीकरण सजिलै हुनसक्थ्यो ।
मानसिक बिरामीलाई सकारात्मक स्वस्थ जीवनयापनमा सघाउनु, सामाजिक भेदभावलाई हटाउने, सक्रिय जीवनयापनमा खेलकुद, सामाजिक सेवा, नाचगान, मनोरञ्जन तथा शारीरिक व्यायाममा लगाउनु, बाल्यवस्थादेखि बानी, व्यवहार, खानपान, उपयुक्त निद्राको अनुगमन गर्ने, घरपरिवारले व्यक्तिको बानी, व्यवहार, चालचलनका बारेमासदस्यको निष्क्रियता, एकहोरोपन, नियमित अल्पाहार, दुव्र्यवहारको महसुस हुनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुन्छ । कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भएकाले सही व्यवस्थापन लागि दक्ष मनाेविद तथा मनाेचिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ । समुदाय तथा परिवारमा आफ्ना समस्या तथा मनोभावनाहरु स्वतस्फूर्त रुपमा व्यक्त गर्न नसकि अझ जटिल परिस्थितीमा रहेका व्यक्तिहरुले सहज, सुरक्षित र गोपनिय रुपमा आफ्ना पीडा तथा भावनालाई व्यक्त गर्ने वातावरण नभएको व्यक्तिहरुले मनोविमर्श सेवा लिन सक्नेछन् । मनोविमर्शका कारण व्यक्तिको आत्मबल बढेर, आफ्नो लागि आफै निणर्य गर्न सक्ने अवस्था सिर्जना गरी समस्या समाधानका लागि सहयोग पुर्याइन्छ । यो प्रक्रियाको अन्त्य सम्म प्रभावितले आफ्नो समस्यालाई समाधान गदै पूर्व अवस्थामा फर्कन सहयोग भएको हुन्छ । साथै मनोविमर्श गर्दा प्रभावितहरुलाई गोपनियता र सुरक्षित रहने वातावरणको अनुभुति गराइन्छ । (डा. ठगुन्ना, मनोविद् एवं द स्कुलअफ साइकलोजी नेपालका अध्यक्षसमेत हुन् ।)
डा. नरेन्द्र सिंह ठगुन्ना
डा. ठगुन्ना स्तम्भकार हुन् ।
- आत्महत्या रोकथामको लागि दृष्टिकोण बदलौँ
- युवामा मानसिक स्वास्थ्य समस्या, यसकारण आवश्यक छ मनोविमर्श
- अटिजम र अभिभावकत्व तनाव
- मानसिक स्वास्थ्यमा गाँजा र शिवरात्रि
- यौन तनाव, असर र यसको व्यवस्थापन
- युवापुस्ता र मानसिक स्वास्थ्य
- कोभिड–१९ महामारीमा सकारात्मक मानसिक स्वास्थ्य
- शिवरात्रिको सकारात्मक मनोविज्ञान र मानसिक सुस्वास्थ्य
- कोभिड-१९ र जेष्ठ नागरिकको मानसिक स्वास्थ्य हेरचाह
- पार्किन्सन रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम
प्रतिकृया दिनुहोस