दृष्‍टिकोण

कोभिड–१९ महामारीमा सकारात्मक मानसिक स्वास्थ्य

मानव समाजले बेलाबखत महामारी भोग्दै आइरहेको भए पनि रोगी हुने कसैको चाहना हुँदैन । यस्ता महामारीले मानिसले बेलाबेलामा आफ्नो अस्तित्वमा नै सङ्कट परेको महसुस गरेका छन् । महामारीले सभ्यता नै समाप्त हुन्ने देखि मानसिक स्वास्थ्य, मूल्य–मान्यता, संस्कृति, चालचलन सबै बदलिन्छन् । 

कोभिड १९ महामारीले नेपाल लगायत विश्वभरका मानिसहरुको जीवनलाई असर गरेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानमा देखा परेर जनवरी २०२० मै संयुक्त राज्य अमेरिका पुगेको कोरोना २०२० भर डुलिरह्यो र २०२१ मा अर्को उत्पात मच्चाइरहेको छ । कोभिड–१९ महामारीको कारण नेपालमा हवाई र सडक यात्राको प्रतिबन्धको साथसाथ भारत र चीनको सीमा बन्द भएपछि राष्ट्रव्यापी लकडाउन मार्च २०२० मा करिव ५ महिना र कोरोना भाइरसको दोस्रो लहरले समुदायमा महामारीको रूप लिएपछि २९ अप्रिल २०२१ देखि विभिन्न स्थानीय तहहरुले लकडाउन शुरु गरेका छन् । क्रमशः खुकुलाे हुँदै गएकाे छ तर संक्रमणकाे गति न्यून भने छैन ।

महामारीको इतिहास 

चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको कोभिड–१९ ले सम्पूर्ण विश्वलाई नै खतराको सङ्केत दिइरहेको छ । हाल यो रोग मानव बस्ती भएका सम्पुर्ण महादेशका प्रायः सबै देश र गाउँसम्म फैलिइसकेको छ ।

कोभिड–१९ भन्दा पहिले विश्वमा विभिन्न महामारीले तहसनहस गरेको थियो जसमा सन् १६५ देखि १८० को बीचमा रोमन साम्राज्यमा ‘एन्टोनियो प्लेग’का कारण करिब ५० लाख मानिसको मृत्यु भएको थियो, सन् २५० देखि २७१ को बीचमा ‘साइप्रियन प्लेग’ले एकैदिनमा रोममा पाँच हजार मानिसको मृत्यु भएको थियो, जसलाई सेन्ट साइप्रियनले ‘विश्वको अन्त्य’को संज्ञा दिएका थिए । सन् ५४१–४२ को ‘जस्टिनियन प्लेग’ इजिप्टबाट सुरु भएर प्यालेस्टाइन र बाइजान्टिन साम्राज्यमा फैलिएको थियो । सन् १३४६ देखि १३५३ को समयलाई कालो मृत्यु ‘द ब्ल्याक डेथ’ भनिन्छ । यसले एसिया र युरोपका देशमा विस्तार भई युरोपको आधा र विश्वको एकतिहाइ जनसङ्ख्यालाई मृत्युको मुखमा पुर्यायो । त्यस्तै सन् १४९२ पछि युरोपियन अमेरिका बसाइँ सर्नेक्रममा विस्तार भएको ‘अमेरिकन प्लेग’ सन् १६६५-६६ को ‘लन्डन प्लेग’, सन् १८१७ को हैजा महामारी, सन् १८७५ को फिजी दादुरा महामारी, सन् १८९९ को रसियन फ्लु, १९१८ को स्पेनिस फ्लु, १८५७ को एसियन फ्लु, १९८१ को एचआईभी एड्स, १९९७ ताकाको बर्डफ्लु, २००३ को सार्स, २००९-१० को स्वाइनफ्लु, २०१४ र १६ को इबोला महामारी, २०१५ को जिका भाइरस आदि महामारीले विश्वमा मानव जीवनलाई अपठ्यारोमा पारेको देखिन्छ ।

कोभिड–१९मा मानसिक स्वास्थ्य समस्या

स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरि पिकनिक (वनभोज), पार्टी, भोजभतेर, तीर्थयात्रा, विवाह, पर्व जात्रा, सभा–समारोह, सडक र्याली, जनप्रदर्शन राजनीतिक जनप्रदर्शनको होडबाजीले गत चैत अन्त्यतिरबाट पुनः व्यापक फैलिएको छ । दैनिक लाखौँ जनालाई रोग र हजारौँको मृत्यु हुने कहालीलाग्दो अवस्था भएको छ । कोरोना लहरको कारण अधिकांश व्यक्तिले आफ्न्त, साथीभाई वा आफ्नै नजिकका व्यक्तिहरु गुमाइरहेका छन् । जसले मानसिक रुपमा आघात र विक्षित बनाएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण अधिकांश व्यक्तिमा विभिन्न मानसिक समस्या जस्तै चिन्ता, उदासिनता र तनाव उत्पन्न भएको देखिन्छ ।  वैचारिक पक्ष अन्तर्गत बारम्बार एउटै सोच आइरहनु, विगत वा भविष्यका कुराले सताउनु, आफैँलाई गलत ठान्नु नकरात्मक सोच्नु र आफन्तका लागि केहि गर्न सकिएन भनेर आफैँलाई दोषी ठहराउनु । 

भावनात्मक पक्ष अन्तर्गत उदास हुनु, दिक्क लाग्नु, अत्याधिक डर लाग्ने, निराश हुनु, छिट्टो रिस उठ्नु अनावश्यक चिन्ता लिनु र डराउनु । शारीरिक पक्ष अन्तर्गत मुटुको चाल तेज हुन्, टाउको दुख्ने, भारी हुने, सन्चो नभएको भान हुनु, शरीर आलस्य हुनु, शरीरमा ऊर्जा नहुनु, हातखुट्ट झमझमाउनु वा पोलेको महशुस हुनु र कहिलेकाहीँ बेहोससम्म हुनु । यसबाहेक व्यक्तिको जैविक कार्यप्रणालीको गडबढि हुनु जस्तो भोक वा खान मन नलाग्नु र निन्द्रा नलाग्नु । व्यवहारिक पक्षमा आत्महत्याको प्रयास, रुन मन लागनु, एक्लै बस्न मन पराउनु तथा आक्रामक व्यवहार देखनउन थाल्नु । र, बालबालिकाको हकका औला चुस्न थाल्नु वा ओछ्यानमा पिसाब/दिशा फेर्न थाल्नु । 

महामारीमा सकारात्मक मानसिक स्वास्थ्य 

मृत्युदर एक प्रतिशतभन्दा कम रहेको यो रोगको भयावह पक्ष भनेको छिटो सर्ने हो ।  कोभिड–१९ महामारीलाई पनि तत्काल हटाउन सकिँदैन, नियन्त्रणमात्र गर्ने हो । यो असहज परिस्थिति कुनै एक व्यक्तिलाई मात्रै देखा परेको समस्या नभई सम्पुर्ण विश्वलाई नै परेको समस्या हो  त्यसैले हामीले चिन्ताभन्दा चिन्तन गरी उक्त चिन्तनलाई व्यवहारमा उतार्दै विसम परिस्थितिबाट छुटकारा पाउनेतर्फ लाग्नुपर्छ भन्ने सकरात्मक मनोभाव लिएर अघि बढ्न वुद्धिमानि हुनेछ ।

सकारात्मक मानसिक स्वास्थ्यको लागि अपनाउन सकिने उपायहरुः

१) सकारात्मक मनोभावः 
सर्वप्रथम मनोबल उच्चका साथ सकारात्मक मनोभाव बनाउनु आवश्यक छ । रोग सार्नबाट जोगिनु नै उत्तम उपाय हो । मानवीयता प्रकट गर्ने, सद्भाव र भाइचाराको व्यवहार गर्ने, व्यक्तिगत रूपमा सकारात्मक सोच राख्ने, ध्यान गर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, पटक–पटक हात धुने, रोग प्रतिरोधात्मक खाना खाने, घरेलु जडीबुटी मात्रा मिलाएर निरन्तर सेवन गर्ने र सकारात्मक मनोभाव राख्ने गर्नाले कोरोनामात्र होइन, अन्य रोगबाट समेत बच्न सकिन्छ । यो समय भनेको चिन्ताभन्दा पनि चिन्तन गर्ने समय हो । 

२) नियमित दैनिक कार्यतालिका बनाउने र कार्य गर्ने
प्रायः जिल्लामा लकडाउन वा निषेधाज्ञा अध्यदेश गरिएको छ । तसर्थ यस समयमा अधिकांश व्यक्तिहरु घरमा नै सिमित रहनुपर्ने भएकाले उनीहरुको दैनिकी नै अनियमित हुने जोखिम भए पनि यस समयमा व्यक्तिले आफ्नौ दैनिकीलाई निरन्तरता दिनका लागि नियमित दैनिक कार्यतालिका बनाउने र कार्य गर्ने जस्तै दैनिक रुपमा खाने,व्याम गर्ने, मनपर्ने काम गरी स्वहेरचाह गर्ने, आराम गर्ने, काम गर्ने गरी सकारात्मक मानसिक स्वास्थ्यको प्रयास गर्नुपर्छ ।

३) यो मनको कुरा त्यो मनले वुझ्ने व्यति सित भावना साटासाट गर्ने 
आफ्ना साथीभाई एवम् आफन्तसंग सम्पर्क गर्ने। हामीले संचारमाध्यमको उपयोग गरेर आफ्ना आफन्त वा साथीभाई संग सम्पर्कमा रहनु आवश्यक छ । सामाजिक सञ्जालमार्फत उनीहरुसंग सम्पर्कमा रही विभिन्न रमाइला पक्षमा कुराकानि गर्दै आफैँलाई मनोरञ्जन प्रदान पनि गर्न सकिनछ ।

४) पर्याप्त सुत्ने
प्रत्येक व्यक्तिको जीवनमा प्रत्येक दिन निद्राको मात्रा महत्त्वपूर्ण हुन्छ । व्यक्तिको निन्द्राले मानसिक सु–स्वास्थ्य र कल्याण को लागी योगदान गर्दछ । निद्राको गुणस्तर पनि आवश्यक छ । कम निद्राको गुणस्तरमा पर्याप्त निद्रा पाउँदा पनि आराम नभएको महसुस हुन्छ जस्तै रातमा बारम्बार ब्यूँझनु, र निद्रा विकारका लक्षणहरू अनुभव गर्नु जस्तै खर्राउने आदि । उमेर अनुसार ६ घण्टा देखि १७ घण्टा सम्म निन्द्रा आवश्यक छ तर यो महामारीमा व्यक्तिले निद्राको मात्रा कमि आएको अनुभव गर्दछन् त्यसैले पयाप्त सुत्नु पनि मानसिक स्वास्थ्यको लागि महत्वपूर्ण छ ।

५) पौष्टिक आहारको सेवन
उचित खानपिनको सेवन शारीरिक साथसाथै मानसिक स्वास्थ्यको निम्ति पनि अत्यावश्यक पक्ष हो । यसका लागि व्यक्तिले सफा, ताजा र स्वस्थवर्द्धक खानपिन शैलीलाई फलो गर्नुपर्छ । जंक फुड र प्याक्ड फुड खानबाट बच्ने । विभिन्न अनुसन्धानले पनि के देखाएको छ भने, पानीको उचित सेवन गर्ने व्यक्तिलाई एन्जाइटी र डिप्रेशनको जोखिम अन्य व्यक्तिको तुलनामा कम रहन्छ । यसका लागि पनि हामीले आफ्नो शरीरलाई आवश्यक पर्ने पानीको सेवन गर्नुपर्छ ।

६) धर्म, अध्यात्म, योगा तथा व्यायाम गरी स्वहेरचाह गर्ने
व्यक्तिले आफूलाई मानसिक रुपमा चुस्त राख्न शारीरिक रुपमा सक्रिय रहन पनि उत्तिकै आवश्यक रहन्छ । धर्मले व्यतिहरूलाई भावनात्मक समायोजन, आशा, जीवको उद्देश्य र अर्थ कायम गर्न मद्दत गर्दछ । धर्मको अर्थ ‘धारणा’ हुन्छ । धर्म मनुष्यको जीवनमा कुनै असल नियम, असल गुण वा असल विचार एवं दृष्टिकोण अपनाउनुलाई भनिन्छ । त्यसैले धार्मीक क्रियाकलापमा संलग्नहुने व्यक्तिको मानसिक सु–स्वास्थ्य राम्रोहुने विभिन्न अध्ययनले देखाएको छ । अध्यात्मले मनुष्यको आचरणलाई सुधार गर्छ । गलत संस्कारहरूमा परिवर्तन ल्याइ व्यक्तिलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकतामा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई व्यवस्थित बनाउँछ । यसले व्यक्तिमा एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईर्ष्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । व्यक्तिले आफ्नो घरभित्र नै शारीरिक व्यायाम गर्ने, योगा गर्ने र इन्टरनेटको माध्यमबाट विभिन्न किसिमका तनाव व्यवस्थापन गर्ने रिल्याक्शेसन व्यायाम समेत गर्न सकिन्छ ।

७) सिर्जनात्मक कार्यमा संलग्न हुने
आफूले चाहेको र आफुलाई मन लागेको विभिन्न सिर्जनात्मक एवम् रचनात्मक कार्यमा आफ्नो समय बिताउने । तसर्थ यस समयमा हामीले कथा कविता लेख्ने, चित्र बनाउने, बोटबिरुवा रोप्नेजस्ता गतिविधिबाट पनि आफ्नो समयको सदूपयोग गर्न सक्छौँ ।

८) समाचार र मिडियामा बढी संलग्न नहुने 
अहिलेको यस परिस्थितिमा अधिकांश व्यक्तिलाई तनाव दिने कारणमध्ये मिडिया पनि एक प्रमुख माध्यम हो । विभिन्न मृत्यु, शोक र संक्रमणको खबरमात्रै सुनिने भएकाले पनि अहिले मिडिया व्यक्तिको तनावको प्रमुख कारण बनिरहेको छ । तसर्थ हामीले यसका लागि जानकारीका लागि दिनमा २-३ पटक मात्रै विश्वसनीय स्रोतको समाचार हेर्ने वा सुन्ने बानी बसाल्नुपर्छ । 

९) धुम्रपान र मद्यपान सेवनबाट टाढै रहने
व्यक्तिको सम्बन्ध, मन,शारीरिक, पारिवारीक एवम् सामाजिक रुपमा पनि वितृष्णा पैदा गर्ने पदार्थ धुम्रपान र मद्यपान हो । धुम्रपान र मद्यपानको सेवनले व्यक्तिलाई मात्र नभई परिवारको अन्य सदस्यमा समेत तनावको अवस्था सृजना गर्छ । 

१०) टेली मानसिक स्वास्थ्य सेवा लिने 
यति गर्दागर्दै पनि मानसिकतामा सकारात्मक परिवर्तन देखिएन भने मनोविद्, मानसिक रोग विशेषज्ञ, मनोविमर्शकर्ताहरुको सेवा पनि लिन सकिन्छ । त्यस्तो अवस्थामा भने व्यक्तिले टेली मानसिक स्वास्थ्य सेवा पनि लिन सकिन्छ ।

अध्यापक, पि के क्याम्पस, 
अध्यक्ष, द स्कुल अफ साइकलोजी नेपाल ।

तपाईँको मत