दृष्‍टिकोण

कोभिड-१९ र जेष्ठ नागरिकको मानसिक स्वास्थ्य हेरचाह

कोभिड–१९ ले विश्व त्रासमात्र बनेको छैन करिब १ लाख ९७ हजार भन्दा बढि व्यक्तिको मृत्यु भएको छ भने २८ लाख भन्दा बढि व्यक्तिहरु महामारीसँग जीवन र मरणको युद्ध लडिरहेका छन । ८ लाख बढि व्यक्तिहरु निको भएर घर फर्केका छन् । सबभन्दा बढि अमेरीका र युरोपमा विकसित राष्ट्रमा भएको मानव क्षतिले प्रमाणित गरेको छ कि समृद्धि, सम्पत्ति र वैज्ञानिक आविष्कारले मात्र प्रकृतिमाथि विजय पाउन सम्भव रहेनछ ।

कोभिड-१९ ले जेष्ठ नागरिककोे मानसिक स्वास्थ्यको लागि एक नयाँ अवरोधको सामना गरिरहेको छ । विश्वमा करिब ९२८ मिलियन जनसंख्या जेष्ठ नागरिकको श्रेणीमा पर्दछन् । यो संख्या २०२५ सम्ममा बढेर १.२ बिलियन हुनसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । २०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्याको नौ प्रतिशत अर्थात २५ लाखभन्दा बढि ज्येष्ठ नागरिक छन् ।  विश्वमाकूल ज्येष्ठ नागरिककमध्ये पाँच देखि १० प्रतिशत दीर्घरोगी रहेको तथ्यांक भएपनि नेपालमा कति दीर्घरोगी छन् भन्ने तथ्याङ्क उपलव्ध छैन । 

चीनमा कोभिड-१९ को कारण भएको मृत्युमध्ये अधिकांश जेष्ठ नागरिकहरू थिए । विश्वव्यापी रूपमा चीनमा वृद्ध जनसंख्या सबैभन्दा बढि छ । चीनमा २०१७ मा, राष्ट्रव्यापी २४१ करोड जेष्ठ नागरिकहरू (६० वर्ष भन्दामाथि) थिए जुनकुल जनसंख्याको १७.३ प्रतिशत हो । जसको झन्डै आधा जनसंख्या परिवारमा थोरै सामाजिक समर्थनका साथ कोही नभएको–खाली गुँड (इम्पटि नेस्ट) जेष्ठ नागरिकहरू जस्तै, बच्चाहरूबिना, वा जसका बच्चाहरूले घर छोडेर अन्यत्र काम गरे थिए ।

विभिन्न अनुसन्धानको रिपोर्ट अनुसार उत्कृष्ट समयमा पनि ६५ वर्ष भन्दा बढी उमेरका केयर होममा बसेका अमेरिकीहरूको एक चौथाई जनसंख्यामा केही सामाजिक सम्बन्ध र विरलै सामाजिक सम्पर्क रहेको देखाएको छ । ४५ वर्ष वा त्यो भन्दा बढि उमेरकामा ३५ प्रतिशत र ६० वर्ष वा त्योभन्दा बढि उमेरकामा ४३ प्रतिशत व्यक्ति एक्लोपनाको व्यक्तिपरक भावनाबाट पीडित भएका र एक्लो महसुस गरेको कुरालाई स्वीकार गर्दछन् ।

कोरोनाभाइरस (कोभिड–१९) को बढी जोखिम ज्येष्ठ नागरिकहरुलाई हुने भएकाले ज्येष्ठ नागरिकको दैनिकी पनि बदलिएको छ । ज्येष्ठ नागरिकको सरसफाइमा जस्तै  दैनिक साबुन पानीले हातधुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने गरिएको छ । अहिले आश्रममा बाहिरका मान्छेको आवतजावत बन्द गरिएको छ । ज्येष्ठ नागरिकमा कोरोनाभाइरसको उच्चजोखिम मात्र नभई मानसिक स्वास्थ्यका हिसावले पनि जोखिम बढि रहेको पाईन्छ

जेष्ठ नागरिकमा भाइरसको फैलावटलाई न्युन र ढिला बनाउन आवश्यक कदमहरू चालेको कारण बढ्दो एकांकीपनको सामना गरीरहेका छन् । जेष्ठ नागरिककोे मानसिक स्वास्थ्य समस्याहरूको थुप्रै कारणहरू छन् । जस्तैः जीवन साथी गुमाउनु, बढ्दो एकांकीपन, सामाजिक भूमिका, अवकाश र जेष्ठ नागरिककोे सामान्य अवमूल्यनको साथ परिवर्तन, शारीरिक स्वास्थ्य समस्याहरू बढ्छन, व्यक्तिले प्रियजन र साथीहरू गुमाउनु, वित्तीय सुरक्षा कम हुन्छ, कहिलेकाँही जीवनशैलीमा आमुल परिवर्तनहरू आउनाले समस्या उत्पन्न हुन्छ । वृद्ध पुरुषभन्दा वृद्ध महिलाहरूको अवस्था झन् कमजोर हुन्छ । यसका लागि पारिवारिक निर्णय प्रक्रिया र सम्पत्तिमाथि पुरुषहरूको वर्चस्वको परम्परा दोषी छ ।

सामाजिक दूरी बढाउनको लागि हलमा टीभी हेर्ने, भजन गाउने, खानाखाने सबै क्रियाकलाप बन्दगर्न सकिन्छ तर संवेगात्मक दूरी धटाउनु पर्दछ । यदि यस्तो गर्न सकिएन भने ज्येष्ठ नागरिकहरुमा पहिले भन्दा बढि रिसाउने, अधिक चिन्तित, तनावग्रस्त, उत्तेजित हुने व्यवहार देखाउँछन् । 

जेष्ठ नागरिक विशेष गरी संज्ञानात्मक विकासको ह्रास, अधिक चिन्तित, रिसाएको, तनावग्रस्त, उत्तेजित र प्रकोपको वेला वा क्वारेन्टाइन भएको बेलामा यी समस्याहरु फेरी बल्झिने सम्भावना हुन्छ । यस्तो बेलामा यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्कहरू (परिवार), पेशेवर मनोविद र स्वास्थ्यकर्मी मार्फत व्यावहारिक र भावनात्मक सहयोग  प्रदान गर्नुहोस् ।

जेष्ठ नागरिकको मानसिक सु-स्वास्थ्य र टेलिमानसिक स्वास्थ्य
विश्व कोविड-१९ सँग लडनको लागि एकजुट भएको बेलामा मनोवैज्ञानिकहरूले जेष्ठ नागरिकहरूमा एक्लोपनको जोखिम भएकोले मानसिक स्वास्थ्य सेवा प्रदायकहरूलाई मद्दतको लागि सक्रिय रहन आग्रह गरेका छन् । किनभने कोभिड-१९ बाट मृत्युको जोखिम जेष्ठ नागरिकको उमेरसँगै बढ्छ । नर्सिंग होममा वा आफ्नै घरहरूमा बसेका परिवारका सदस्यहरू र साथीहरूले वृद्ध व्यक्तिहरूको भ्रमणलाई सीमित गर्दैछन् । सामाजिक अलगाव र एकांकीपनको लागि सामाजिक दूरीको नयाँ अभ्यास र अरूसँग घनिष्ठ शारीरिक निकटता कम गर्नाले जेष्ठ नागरिकहरूको बीचमा अर्को घातक महामारीमा योगदान पुर्याउन सक्छ भन्ने धारणा मनोविदको रहेको छ । मनोवैज्ञानिकहरूले जेष्ठ नागरिकमा सामाजिक दूरी र अन्यमहामारी सम्बन्धी कारकहरूको मनोसामाजिक प्रभाव न्यूनीकरण गर्न मद्दत गर्दछन् । 

मानसिक रूपमा स्वस्थ रहने व्यावहारिक तरिकाहरू सिकाउनुहोस्
परिवर्तनहरूको लागि तयार रहनुहोस बुढो हुनु र सेवानिवृत्ति दुबैले व्यक्तिहरूको जीवनशैलीमा परिवर्तन हुन्छ । समस्या र सरोकारकाबारे कुरा गर्नुहोस । यदि हामी हाम्रो चिन्ताको बारेमा कुरा गर्छौं भने समस्या, कठिनाइ र चिन्ताहरू प्रबन्ध गर्न सजिलो हुन्छ । मद्धतको लागि सोध्नुहोस, अगाडि सोच्नुहोस् र योजना गर्नुहोस, अरूको हेरचाह गर्नुहोस् । अरूको हेरचाह गर्दा सम्बन्धहरू बलियो रहन सक्दछ र व्यक्ति नजिक हुन्छ । आफ्न्तहरुलाई समय समयमा भेट्दै गर्नु पर्दछ ।  सक्रिय रहनुहोस्, राम्रोसँग सुत्नुहोस, होशियारीका साथ खानु र पिउनुस्, तपाईंले रमाईलो गर्नुहुने चीजहरू गर्नुहोस यसले जीवनलाई आनन्दित बनाउँछ साथै यसले हाम्रो दिमाग र शरीरलाई सक्रिय राख्न सक्छ । आराम एवं विश्राम गर्नुहोस् । 

जेष्ठ नागरिकलाई परिवार र साथीहरूसँग सम्पर्कमा रहन प्रोत्साहित गर्ने
परिवारका सदस्यहरुले जेष्ठ नागरिकहरूलाई थाहा दिनुहोस् तपाईंको आउँदो भेटहरूको समयमा के क्रियाकलापमा संलग्न हुने योजना तयार गर्नुहोस् । जस्तै जेष्ठ नागरिकको जीवनका महत्वपूर्ण घटना सुन्ने आदि  । वृद्ध बिरामीहरूलाई परिवार र साथीहरूसँग सम्पर्कमा रहन प्रोत्साहित गर्नुहोस् । मनोवैज्ञानिकहरूले पुराना बिरामीहरूलाई सम्पर्कमा रहन अन्य तरिकाहरू जस्तै चाहे भिडियो च्याट एप्स, टेलिफोन वा पुरानो शैलीको चिठी वा पोष्टकार्डहरू मार्फता।

टेलिमानसिक स्वास्थ्य विकल्पहरू विचार गर्नुहोस्
यस्तो समाजिक दूरीको अवस्थामा जेष्ठ नागरिकहरूको मानसिक सु-स्वास्थ्यको लागि टेलिमानसिक स्वास्थ्य विकल्पहरू उपयुक्त हुन्छ । यद्धपी यो प्रविधि नेपालको लागि नयाँ हो तर यो सारै व्यवहारीक, मितव्ययी, समयको बचत, सहज उपलव्ध छ । जेष्ठ नागरिकहरू अहिलेको अत्याधुनिक सुचना प्रविधिमा कम जानकार छन भने टेलिमानसिक स्वास्थ्य विकल्पको लागि टेलिफोनमा भर पर्नु अर्को व्यवहारिक विकल्प हो । यसको लागि उपयुक्त सहमति फारममा हस्ताक्षर गर्न आवश्यक छ ।  

जेष्ठ नागरिकको सुरक्षाको लागि परिवारहरूलाई मद्दत गर्नुहोस्
जिरोसाईकलोजिस्टहरूले परिवारलाई जेष्ठ नागरिकहरूलाई घरमा राख्नको लागि अधिक प्रभावकारी तरिकाहरूको बारेमा जानकारी दिन्छन् । जेष्ठ नागरिकहरूले घरमा रहने कुरालाई केही बढि महत्व दिनुहोस् । बुढेसकालका हजुरआमा, हजुरवुवालाई गम्भीर बिरामी परेमा छोरा, छोरी, वुहारी र युवाहरूलाई जोगाउनका लागि प्रोत्साहित गर्न वा आफ्ना नाति-नातिनाहरूका लागि आफ्नो जीवनको कथा लेख्न समय खर्च गर्न प्रोत्साहित गर्न सकिन्छ ।

जेष्ठ नागरिकको दुर्व्यवहारको रोकथाममा मद्दत गर्नुहोस् 
जेष्ठ नागरिक प्रतिको दुर्व्यवहार भनेको त्यस्तो संक्रमणको अवस्था हो जसमा शारिरीक, संवेगात्मक, मनोबैज्ञानिक, यौनीक वा आर्थिक नोक्सानीको व्यवहार बृद्धबृद्धाहरुप्रति गरिन्छ । स्याहरकर्ताले यस्तो बेवास्तापुर्ण दुर्व्यवहार जानीजानी वा नजानिकन गर्ने गर्दछन् । जेष्ठ नागरिकको दुर्व्यवहारको रोकथामको पहिलो र सबभन्दा महत्वपूर्ण कुरा भनेको कुनैपनि व्यक्तिलाई हिँसा, दुर्व्यवहार, होच्याउने र बेवास्ता गर्नु हुँदैन भन्ने जान्न जरुरी छ । घरपरिवारका सदस्यहरुलाई यस्तो अवस्थामा मनोबैज्ञानिक तथा मनोविमर्श सेवा प्रदान गर्न प्रेरित गर्ने । जेष्ठ नागरिकको सामाजिक सम्पर्क र सहयोग बढाएर पनि रोकथाममा सहयोग गर्न सकिन्छ । 

(डा. ठगुन्ना, बिद्यावारिधी (मनोविज्ञान) जेष्ठ नागरिक विज्ञ समुह-राष्ट्रिय मानवअधिकार आयोगका सदस्य, पिके क्याम्पस काठमाण्डौका अध्यापक र द स्कूल अफ साईकलोजी नेपालका अध्यक्ष हुन् ।)

तपाईँको मत