गाउँ सहर

आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै

नोट: यो तस्बिर नभई कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जना गरिएको चित्र हो।

काठमाडौँ। सूर्यदेवको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज शनिबार दोस्रो दिन ‘खरना’ विधि मनाइँदै छ।

खरनाका दिन व्रतालुहरू दिनभर निराहार बसेर साँझ चामल, दूध र सक्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्छन्। उक्त प्रसाद परिवारका सदस्य तथा आफन्तलाई समेत बाँड्ने चलन छ।

शुक्रबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्वको तेस्रो दिन भोलि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ। पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिनेछ।

छठमा ठकुवा, भुसुवा, केरा, उखु, नरिवललगायतका सामग्री सूर्यदेवलाई चढाउने परम्परा छ। विशेषगरी तराई–मधेसमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि उत्साहका साथ मनाउन थालिएको छ।

छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनारमा घाट सजाउने र पूजाको तयारी गर्ने क्रम जारी छ।

गाउँ सहर संवाददाता

तपाईँको मत