अर्थतन्त्र

सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यस वर्ष खुद नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो।

यद्यपि, कम्पनीको कुल सञ्चालन आयमा भने उल्लेख्य वृद्धि देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो। यसअनुसार सञ्चालन आय १३ लाख रुपैयाँले घटेको देखिन्छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यसअनुसार कुल आय ६६ लाख रुपैयाँ अर्थात् ०.०७ प्रतिशतले बढेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत