दिगोविकास

आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंँ । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ । बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार भने देशभरको मौसम सामान्यतया सफा रहनेछ । आइतबारदेखि पश्चिमी वायु सक्रिय भएसँगै मौसममा परिवर्तन आउने अनुमान गरिएको छ ।

वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्न सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ । खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको पराल सुरक्षित राख्न मौसमविद्ले सुझाव दिएका छन् ।

सम्भावित प्रणालीबाट भारी वर्षाको जोखिम नरहे पनि पहाडी क्षेत्रमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत