जीवनशैली

बालबालिकालाई के सिकाउने, के नसिकाउने

बालबालिका कुनै पनि राष्ट्रको वास्तविक भविष्य हुन्। उनीहरूलाई जे सिकाइन्छ, जस्तो संस्कार दिइन्छ, जस्तो वातावरणमा हुर्काइन्छ, त्यसले भविष्यमा समाज र राष्ट्रको स्वरूप निर्धारण गर्छ। त्यसैले बालबालिकाको सिकाइ केवल किताब र विद्यालयमा सीमित हुँदैन, घर, परिवार, समाज र प्रविधि सबैले यसमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्छन्। तर प्रश्न उठ्छ बालबालिकालाई के सिकाउने र के नसिकाउने ?

बालबालिकालाई सिकाउने काम केवल जानकारी थुपार्ने प्रक्रिया मात्रै होइन। यो व्यक्तित्व विकास र मानसिक परिपक्वतासँग जोडिएको प्रक्रिया हो। बालबालिका रमाइलो गर्दै सिक्न चाहन्छन्। डर, धम्की वा दण्डद्वारा सिकाउने शैली अब उपयुक्त छैन। सानै उमेरमा आधारभूत संस्कार, खेल र भाषाको विकास; किशोरावस्थामा जिम्मेवारी, तर्कशक्ति र आत्मनिर्भरता सिकाउँदै लैजानुपर्दछ। शिक्षा भनेको केवल अंक होइन, जीवनयापनका सीप, मूल्य र आचरण पनि हो।

बालबालिकालाई के सिकाउने ?

१. नैतिक मूल्य र संस्कार : बालबालिकालाई सबैभन्दा पहिले सत्य, इमानदारी र अनुशासन सिकाउनु जरुरी छ। असत्यले छोटो समयमा फाइदा दिन सक्छ तर दीर्घकालमा सत्य नै टिक्छ भन्ने पाठ। आमाबाबु, शिक्षक, वृद्ध, प्रकृति र पशुपक्षीसम्मलाई सम्मान गर्ने भावना पनि सिकाउनुपर्दछ। साथी वा परिवारसँग मिलेर काम गर्न सक्ने क्षमता, देशकाे भाषा, संस्कृति र राष्ट्रिय गौरवप्रति आत्मीयता पनि सिकाउनुपर्द्छ।

२. शिक्षा र ज्ञान : शिक्षाले बालबालिकाको सोच बदल्छ। मातृभाषा राम्रोसँग सिकाउनु अत्यन्त जरुरी छ, साथै अन्तर्राष्ट्रिय भाषा पनि। अंक मात्रै होइन, तर्कशक्ति र समस्या समाधानको सीप। वातावरण, प्राकृतिक नियम र डिजिटल प्रयोग। गीत, कविता, चित्रकला, नृत्यजस्ता सिर्जनात्मक गतिविधिले साेचमा परिवर्तन ल्याउँछ।

३. व्यावहारिक जीवन सीप हात धुने, सफा खानेकुरा खाने, नियमित व्यायाम गर्ने। आफ्ना सामान मिलाउने, आफ्नो समय व्यवस्थापन गर्ने। बाटो काट्दा, बिजुली वा आगो प्रयोग गर्दा सचेत रहनु। मोबाइल र इन्टरनेटलाई सही ढंगले प्रयोग गर्ने।

४. भावनात्मक र सामाजिक सीप : रिस वा असफलतालाई नियन्त्रण गर्ने क्षमता। अरूको पीडा बुझ्ने र सहयोग गर्ने। कठिनाइमा नभाग्ने, आफ्नो क्षमतामा विश्वास गर्ने। समस्या देख्दा भाग्ने होइन, समाधान खोज्ने।

बालबालिकालाई के नसिकाउने ?

१. नकारात्मक बानी

  • झूट बोल्ने वा धोका दिने।

  • हिंसा, आक्रामकता र झगडा गर्ने प्रवृत्ति।

  • आलस्य, समयको मूल्य नबुझ्ने।

  • मोबाइल वा खेलमा अत्यधिक निर्भरता।

२. गलत सामाजिक मूल्य

  • जातीय, लैंगिक वा धार्मिक विभेद।

  • अरूलाई हेप्ने प्रवृत्ति।

  • पैसामुखी सोच र भोगवादी संस्कार।

  • श्रमलाई तुच्छ ठान्ने प्रवृत्ति।

३. अस्वस्थ जीवनशैली

  • अत्यधिक जंकफुड वा प्रशोधित खाना।

  • शारीरिक गतिविधि नगर्ने।

  • निद्रामा बेवास्ता।

  • नशालु पदार्थप्रति सकारात्मक दृष्टिकोण।

परिवार, विद्यालय र समाजको भूमिका:  बालबालिकाको पहिलो पाठशाला परिवार हो। आमाबाबुको व्यवहार नै प्रमुख सिकाइ हो। प्रेम र अनुशासनको सन्तुलन जरुरी छ।

विद्यालयमा पनि किताब मात्रै होइन, खेलकुद र कला गतिविधिमा पनि जोड दिनुपर्छ। बालमैत्री शिक्षण शैली। लोचनात्मक सोच र समस्या समाधान सीप विकास।

त्यस्तै समाज भूमिका भनेकाे सकारात्मक वातावरण सिर्जना, खराब संगतबाट जोगाउने, बाल क्लब, खेलकुद, पुस्तकालयजस्ता पहल गर्नुपर्दछ।

आजका बालबालिका प्रविधिसँगै हुर्किरहेका छन्। इन्टरनेटले ज्ञान सजिलो बनाएको छ। समयको दुरुपयोग, लत र मानसिक असर। डिजिटल साक्षरता दिनु तर प्रयोगको सीमा निर्धारण गर्नु।

गलत जानकारीको पहुँच, समाजमा फैलिएका विकृति,शिक्षा र अवसरमा असमानता दिलाउँछ त्यसका लागि गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउने।अभिभावकलाई सचेत बनाउने, संस्कार र मूल्य शिक्षालाई अनिवार्य पाठ्यक्रममा समावेश गर्ने।

यसर्थ बालबालिकालाई के सिकाउने र के नसिकाउने भन्ने प्रश्न केवल व्यक्तिगत परिवारको मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रको जिम्मेवारी हो। उनीहरूलाई सत्य, इमानदारी, सहकार्य, स्वास्थ्य र सिर्जनशीलता सिकाउनुपर्छ। झूट, हिंसा, भेदभाव, आलस्य र अस्वस्थ जीवनशैलीबाट बचाउनुपर्छ।

आजका बालबालिकाले जे सिक्छन्, त्यो भोलिका नागरिक र नेताका रूपमा प्रतिविम्बित हुन्छ। त्यसैले उनीहरूलाई सही बाटो देखाउनु भनेको भविष्यलाई उज्यालो बनाउनसमान हो।

गाउँ सहर डेस्क

तपाईँको मत