गाउँ सहर

‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनाले कुनै संलग्न नरहेकाे भन्दै पार्टीकाे कारबाहीबाट आश्चर्यचकित भएकाे जनाएका छन् ।

पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ–४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमले साेमबार एक विज्ञप्ती जारी गर्दै नेताहरूमाथि धकेलाधकेल भएकाे बेला भिडलाई पन्छाउन गएकाे विषयलाई कुटपिट गरेकाे भन्दै निलम्बन गरिएकाेप्रति भत्सर्ना गरेका छन् ।

गत फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी भएको समयमा कार्यालय हाताभित्रै श्रेष्ठमाथि कुटपिट भएको थियो।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष विक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो।

विज्ञप्तीकाे पूर्ण पाठ

हामी राप्रपाको पक्षमा अनवरत संघर्षसिल कार्यकर्ताहरु हिजो मिति ०८० चैत ४ गतेका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले हामीहरुलाई पार्टीबाट निलम्बन गरेको भन्ने समाचार संचार माध्यमहरुमा प्रकाशित हुँदा हामी आश्चर्यचकित भएका छौँ ।

पार्टीको फागुन २६, २७ र २८ मा बसेको कार्यसम्पादन समितिको बैठक र २६ गते घटेको घटनाप्रति हामी स्वयम् नै चिन्तित छौँ । २७ गतेका दिन बैठक खानाको निमित्त रोकिएको समयमा एक नेतामाथि कसले धकेला-धकेल गर्यो र हातपात गर्यो सो विषय हामीलाई जानकारी छैन । हामी बैठक चलिरहँदा सदा झैँ पार्टी अफिस पुगेका हौँ र त्यहाँ अनियन्त्रित भीडले हाम्रो नेतामाथि धकेला-धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन तसर्थ हामी भिडलाई पन्छाउन गएका हौँ र पन्छाएकाे पनि हो ।

सोही सन्दर्भमा एक संचारमा प्रकाशित हाम्रा तस्विरहरुलाई लिएर हामी माथि नै घटनामा संलग्न भनी जुन झुठो आरोप लगाइयो त्यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौँ । आज पनि हामी भन्दछौँ हाम्रो त्यस घटनामा कुनै संलग्नता छैन यहि नै सत्य हो ।

हाम्रो पार्टी प्रतिको निष्ठा र इमानदारीतामा कसैले शंका नगरे हुन्छ । सोही विषय लाई लिएर फागुन २९ गतेका दिन हामीलाई पार्टीको अनुशासन समितिबाट स्पष्टीकरण प्राप्त भएको र ३० गते नै हामीले स्पष्टीकरण समेत बुझाएका थियौँ । हामीले स्पष्टीकरणमा उल्लेख गरेका विषयहरुलाई गम्भीर अध्ययन र छलफल नै नगरि अझ चित्त नबुझे सशरिर हामीलाई उपस्थित गराएर हामीबाट थप जानकारी नै नलिई अनुशासन समितिको सिफारिसको आधारमा भन्दै निलम्बन गरेको भन्ने सुचना हाम्रो लागि आश्चर्यको विषय बनेको छ ।

हामी यो निर्णयलाई अस्वीकार गर्दछौँ । हाम्रो जीवनको उर्वर उमेर, धन सम्पति हामीले यो पार्टीमा खर्चेका छौँ । केही दिन अगाडि पनि यसैगरि केही साथीहरुमाथि यस्तै कार्वाहीको सूचनामार्फत निष्कासन गरिएको थियो । पार्टीभित्र बाेल्न, लेख्न र स्वतन्त्र अभिव्यक्ति राख्न पाउने हकको उल्लंघन गरि सबैलाई यसैगरि कार्वाही गर्दै जाने हो भने तमाम कार्यकर्तामा निराब छाउने र यसले दीर्घकालमा पार्टीलाई ठूलो नोक्सानी हुने कुरा कसैले टार्न सक्दैन । यसबारे नेतृत्व सचेत रहनु जरुरी छ ।  हामी हाम्रो परिवारभन्दा माथि पार्टीलाई मानेर अनवरत हिड्ने कार्यकर्तामाथि विवेकहिनताका साथ जुन निर्णय गरिएको छ त्यसले हामीलाई मात्र हैन तमाम देशभरिका कार्यकर्ताहरुमा समेत नकारात्मक सन्देश जाने र पार्टी क्षयिकरणतर्फ उन्मुख हुने कुरामा कुनै शंका छैन । पार्टीभित्र जुन गलत परम्पराको श्रृजना भएको छ यसले बुढि मरि भन्ने हैन काल पल्कियो भन्ने सन्देश दिएको छ ।

राप्रपा हाम्रो रगत र पसिनाले सृजित दल हो । हामीमाथि जुन किसिमको पूर्वाग्रही,एकाधिकार सोचका साथ गरिएको कार्वाहीको हामी प्रतिरक्षामा उत्रने कुरामा कतै शंका नरहोस् । पार्टीको मार्गचित्रबाट विचलित नभइ राजनीतिक जीवनमा आउने यस्ता घटनालाई हामीले सामान्य र सहज रुपमा लिएका छौँ । हामी देशभरिका नेता तथा कार्यकर्ता साथीहरुमा हामीमाथि पार्टीले गरेको यो पूर्वाग्रही, अन्याय पूर्ण निर्णयको विरुद्धमा एकजुट भइ हामिलाई साथ, सहयोग गर्नु हुनेछ भन्ने आशा गरेका छौँ । राजसंस्था, हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी लगायताका पार्टीको मुल मुद्दाप्रति हामी पुन: प्रतिवद्दता जाहरे गर्दछौँ र पार्टीले गर्ने आन्दोलनको कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटने पनि छौँ । यो अन्यायपूर्ण निर्णयको विरुद्द हामी प्राण रहेसम्म संघर्ष गर्नेछौँ र यसमा तमाम पार्टीका नेता तथा कार्यकर्ता साथीहरुको साथ रहोस् भनी अपिल गर्दछौँ । जय राष्ट्रवाद !

गाउँ सहर संवाददाता

तपाईँको मत