राजनीति

नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार बनाउने धन्दामा लाग्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।

आफूहरुले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको उनको भनाइ छ । उनले भने, ‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस् ।’

महामन्त्री शर्माले अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताए । उनले क-कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका खानेहरु एक ठाउँमा आउने वातावरण बन्न सक्ने भन्दै महामन्त्री शर्माले अहिले हतार गर्न जरुरी नभएको बताउँदै उनले भने, ‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’

उनले कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्रीले एक वर्षको समय पनि नदिएको बताए । एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? उनकाे प्रश्न थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत