राजनीति

मधेश सरकारबाट कांग्रेसले फिर्ता लियो समर्थन

जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको पत्र कांग्रेस संसदीय दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो ।

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिए । उनले भने, ‘अब कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए । तर राजिनामा नदिएपछि तीनै मन्त्रीलाई पदमुक्त गरे ।

कांग्रेसबाट दलका नेता यादव भौतिक पूर्वाधार विकास मन्त्री, विरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह, संचारमन्त्री तथा कानून मन्त्री थिए ।

कांग्रेसलाई सरकारबाट हटाएर मुख्यमन्त्री यादवले तीनै मन्त्रालय नेकपा एमालेलाई दिएको छ । एमालेबाट दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनलाई नै गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

जसपा संसदीय दलका नेता यादवलाई सुरुमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्री बनाएर सरकार गठन गरेको थियो । तर सत्ता समीकरण बदलिएर कांग्रेससहितको समीकरण बनेपछि पनि मुख्यमन्त्रीमा यादव नै निरन्तरता पाए । अहिलेको पुरानै गठबन्धन ब्यूतिएपछि पनि मुख्यमन्त्री यादव नै कायम रहे ।

अहिले प्रदेश सरकारमा जसपा, एमाले, नेकपा एस, नेकपा माओवादी केन्द्र र लोसपा छन् । संघको गठबन्धनमा लोसपा नरहेपनि प्रदेश सरकारलाई समर्थन कायम राखेको छ ‌।

गाउँ सहर संवाददाता

तपाईँको मत