कृषिकै भरमा संयुक्त परिवार पाल्दै पोखरा रिठेपानीका ‘अरबे साईंला’
- विष्णुहरि पाैडेल
- ४ असोज बिहीबार, २०८० | २१:२०:०० मा प्रकाशित

पोखरा। पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीका किसान ख्याम भुजेल (अरबे साईंला) काे दैनिकी कृषि कर्ममा बित्ने गर्दछ।
उनलाई भेट्न जाने जो कोहीले पनि उनलाई कृषिमा नै काम गरिरहेको भेट्दछन् । उमेरले ६६ वसन्त पार गरेका उनी घरमा पनाती सम्म पाउँदा पनि काममा त्यति नै लगनशील छन् जुन युवा अवस्थामा थिए ।
पुरानो घर स्याङजा भई वि.सं. २०३३ सालमा पहिरो पीडितमा परेर वुवासँग कास्कीको रिठेपानी स्थित लामातरामा झरेका भुजेलले रोजगारीका सिलसिलामा सात वर्ष साउदीमा बिताए। त्यसपछि नेपाल फर्किएर अब स्वदेशमा नै केही गर्नु पर्छ भन्ने मान्यताले केही जग्गा खरिद गरे। अहिले त्यही जग्गामा आफ्ना घर परिवारको सहयोगमा कृषि ब्यवसाय संचालन गर्दै आएका छन्। कृषिकै भरमा संयुक्त परिवार पाल्दै आएका अरबे साईंलाका छोरा बुहारी, नाति नातिना एकै परिवारमा बस्छन्, एउटै भान्सामा खान्छन्।
वि.सं. २०५७ सालमा अरबबाट आएर जग्गा खरिद गरी स्वदेशमा नै केही गर्न थालेपछि उनलाई सबैले अरबे साईंलाका नामबाट चिन्न थालेका हुन्।
संघर्षमय जीवन भोग्दै आएका भुजेलले बहुखेती प्रणाली विधिलाई आत्मसाथ गर्दै तरकारी, कुखुरा र माछापालन ब्यवसाय समेत संचालन गरेका छन् ।
करीब १२ रोपनी क्षेत्रफलमा उनले १५ वटा टनेल निर्माण गरेर गरी गोलभेडा र धनियाँ खेती गरेका छन् भने करीब दुई हजार कुखुरा समेत पालेका छन्। उनले धान खाने चार रोपनी खेतमा पोखरी निर्माण गरी रुहु,नैनी, ग्रासकार्प र सिल्भर जातका माछा पालन गरेर मनग्य आय आम्दानी गरेको बताउँछन्।
तरकारीका लागि मल आवश्यक पर्ने भएकाले कुखुरा र पशुपालनमा जोडिएका भुजेललाई उनका तीन भाइ छोरा मध्य जेठा राजेन्द्र भुजेल र माईला विजय भुजेलले हातेमालो गर्दै सघाई रहेका छन् भने कान्छा छोरा बिदेशमा रहेका छन्।
संयुक्त परिवार भित्र रमाउँदै आएका भुजेललाई तीन बुहारी, नाती नातीना र श्रीमती विष्णुमाया भुजेलले समेत साथ दिएकोले आफूले सोचे अनुसारकै सफलता हात परेको उनले बताए। काम प्रतिको छोरा बुहारीको लगनशीलताकाे उनी खुलेर प्रशंसा गर्छन्।
आधुनिक कृषिबाट ब्यवसायका लागि नयाँ नयाँ प्रविधि, सीप र ज्ञान आवश्यक पर्ने भएकाले राज्यको तर्फबाट किसान मैत्री काम नभएको गुनासो राख्दै राज्यले किसानको लगानी अनुसार विभिन्न समयमा हुन सक्ने नोक्सान तथा रोगका कारण मर्कामा पर्दा सहयोग र वास्तविक किसानको पहिचान गरी अनुदान दिन सक्ने हो भने दुई पैसा कमाउनका लागि दैनिक रुपमा विदेशिने युवालाई स्वदेशमा नै रोक्न सकिने उनको सुझाव रहेको छ।
उनले राज्यले बाहिरबाट आउने तरकारीलाई नियन्त्रण गर्नुपर्ने र विषादी रहित तरकारी उत्पादनमा जोड दिनु पर्ने बताएका छन्।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट सुरु
- लेखनाथ उद्योग वाणिज्य संघमा महिला उद्यमीहरुको भेला
- बरालको बहुआयामिक व्यक्तित्व अनुकरणीय
- त्याग समर्पण र अवसर भए विदेशिने क्रम घट्छ : विश्वविद्यालय अनुदान आयोग अध्यक्ष अधिकारी
- शान्ति उदयमा रेडक्रस कास्कीको तालिम सुरु
- गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गतेदेखि
- लेखनाथ जेसिजद्वारा बृद्धाश्रममा सहयोग
- राइजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ्गको समाजसेवा सराहनीय
- मौरीपालनबाटै लाखाैँ कमाउँछन् श्रीभद्र, कम लगानी-मनग्य आम्दानी
- कृषि प्रेरणादायी अधिकारी
प्रतिकृया दिनुहोस