दृष्‍टिकोण

पार्किन्सन रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम

पार्किन्सन रोग स्नायुहरूको क्षयको कारणले हुने रोग हो । बेलायती चिकित्सक जेम्स पार्किन्सन द्वारा सन् १८१७ मा गरिएको खोजलाई सम्मान गर्दै यस रोगलाई पार्किन्सन रोग भनिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार पार्किन्सन रोगद्वारा विश्वभर लगभग एक करोड मानिसहरु प्रभावित भएकाले तथ्यांक छ । यो रोग प्रायः पचास वर्ष भन्दा माथिका उमेर समूहमा देखा पर्छ । विकसित देशहरूमा हरेक हजार व्यक्तिहरू मध्ये तीन जनामा यो रोग देखा परेको छ । साठी वर्ष नाघेका मध्ये प्रति हजार १० जना र ८० वर्ष नाघेकामा प्रति हजार ४० जना व्यक्तिहरु यो रोगद्वारा पीडित छन् । पुरुषहरूलाई पार्किन्सन रोग महिलाहरूको तुलनामा १.५ गुणा बढी हुन्छ ।

केन्द्रीय स्नायु प्रणालीको धेरै कार्यहरूमा प्रत्यक्ष भूमिका खेल्ने डोपामाईन न्यूरो–ट्रान्समीटर हो । यो रसायनले मांशपेशीहरूको चाल तथा खिचाव नियन्त्रण गर्ने, पोश्चर नियन्त्रण गर्ने, अनुभूति, प्रेरणा, दण्ड, पुरस्कार, मूड, एकाग्रता, लय, ध्यान, स्मृति, सिकाई, निद्रा र बोली जस्ता मानसिक कार्यहरूलाई सुचारु र सन्तुलित राख्ने कार्य गर्दछ । 

पार्किन्सनको ख्याल गर्ने व्यक्तिहरूमा पार्किन्सनको बारेमा राम्रोसँग बुझ्नको लागि अवसरको रुपमा प्रत्येक वर्ष विश्व पार्किन्सन दिवस ११ अप्रिल मा मनाउने गरिन्छ । यूरोपिय पार्किन्सन रोग संगठनको आब्हानमा यो रोगका बारेमा जनचेतना गराउने अभिप्रायले यो दिवस मनाउन थालिएको हो । विश्व विख्यात व्यक्तित्वहरू बक्सर मोहमद अली, अभिनेता बब होसकिन्स, वास्केटवल खेलाडी ब्रायन ग्रान्ट, जर्मन तानाशाह एडोल्फ हिटलर, चाइनीज शासक मोओत्सेतुङ्ग र पोप जोनपाल द्वितीयलाई पनि पार्किन्सन रोगबाट ग्रसित थिए । 

यो रोग लागेका व्यक्तिहरूमा विशेषत हातको कम्पन, मांशेपेशीहरूमा कडकता, हिँडाई तथा चाल सन्तुलन नहुने, शरीर कुप्रिने, हिड्न अप्ठ्यारो हुने, अनुहारको मुखाकृती, भाव र मुद्राहरू असामान्य हुने, र्याल चुहिने, निद्रा नलाग्ने, गन्ध थाहा पाउन गार्हो हुने, उदाशी तथा खिन्नता बढ्ने, दृष्टि विकृत हुने, कुनै कुरामा एकाग्रता लय तथा ध्यान दिन गाह्राे हुने, आवाज मसिनो हुनै जाने जस्ता समस्याहरू देखा पर्दछन् । तौल घट्ने, कब्जियत हुने, श्वास बढ्ने, काम शक्तिको क्षय जस्ता लक्षणहरु पनि देखा पर्दछन् । 

पार्किन्सन रोग र मानसिक स्वास्थ्य समस्या

व्यक्तिमा पार्किन्सनको लक्षणको साथ साथै मानसिक स्वास्थ्य समस्याका लक्षणहरु पनि  अनुभव गर्न सक्छन् । पार्किन्सन भएका आधा जति व्यक्तिले चिन्ता र उदासीनता सम्बन्धी मानसिक स्वास्थ्य समस्याका लक्षणहरू अनुभव गर्ने गरेका छन् । यसै गरेर मेमोरी समस्याहरू, हेलुसिनेसन र डिमेनेसियापनि देखिन्छ । 

चिन्ता
चिन्ताको रोगीले अत्यन्त तीब्र तनावको महसुस गर्छ जसले गर्दा उसलाई आफ्ना दैनिक जीवनका क्रियाकलाप गर्न वाधा पुग्दछ । पार्किन्सन भएका व्यक्तिहरूले चिन्ता र डरको भावनाहरू सहित चिन्ताको अनुभव गर्न सक्छन् । समय समयमा विभिन्न परिस्थितिहरूमा जब व्यक्तिले खतर र गाह्रो महशुस गर्दछ तब चिन्ताको भावना आउनु प्राकृतिक प्रतिक्रिया हो । चिन्ता  भनेको एक प्रकारको नरमाइलो संवेग हो जसलाई व्यक्तिहरूले केहि खतराको आंशकामा अनुभूति गर्दछन् । प्रत्येक मानिसले आफ्नो दैनिक जीवनमा केही न केही रूपमा तनाव महसुस गर्दछ । तनावपूर्ण घटना हुनुअघि चिन्तित हुने– जस्तो जाँचअघि चिन्तित हुनु स्वाभाविक हो । चिन्ताले ग्रस्त व्यक्तिमा डरको भावना, निरन्तर चिन्ता, ध्यान केन्द्रित गर्न कठिनाई, पसिना, छातीमा जकडिएको, चक्करडरले काम्ने, अपच, सुख्खा मुख, मांसपेशी दुख्ने, निद्रामा कठिनाई आदि जस्ता लक्षणहरु देखाउँछन् । 

उदासीनता
उदासीनता सामान्य खालको मानसिक समस्या हो । जसमा व्यक्तिको सुत्ने र खाने तरीकाहरु, सोचाई, अनुभव तथा विचारहरुमा नकारात्मक प्रभाव पार्दछ । असुरक्षा तथा आत्मविश्वासको कमी भएको चरम अनुभवको अवस्थामा व्यक्तिमा उदासिनता उत्पन्न हुने सम्भावना हुन्छ । यस्ता व्यक्तिमा शारीरिक लक्षण जस्तै भोक नलाग्ने, दुब्लाउने, निन्द्रामा गडबढी, यौन चाहनामा कमी आउने, महिलाहरूमा महिनावारी सम्बन्धी गडबढी, थकित देखिने वा थकाई लाग्ने, कमजोर महसुस गर्ने वा देखिने, शरिरका अङ्गहरु दुख्ने आदि । मनोवैज्ञानिक लक्षण जस्तैः उदासिन हुनु, दुःखी हुनु, चिन्ता लाग्नु आदि, निराशावादी एकाग्र हुन नसक्नु, रुचिमा कमी र कुनैपनि कुराको लागि प्रेरित नहुनु, आत्महत्या गर्ने सोचाइ आइरहनु आदि । व्यवहारिक लक्षण जस्तै शक्तिहीन, झर्कने, व्यक्तिगत रङ्गरूपमा ध्यान नदिने, दुःख लाग्ने, शारीरिक असन्तुष्टिहरू व्यक्त गर्ने, प्रायः रोइरहने, दैनिक कार्यहरूमा अभिरुचि हराउने, ढीलो बोली र क्रियाकलाप, सामाजिक क्रियाकलापमा संलग्न नहुने, दोषी, दिक्क हुने, मूल्यहीन र बेकम्मा महसुस गर्ने  आदि । 

पार्किन्सनको उपचार र रोकथाम

उपचार र रोकथामको लागि यो रोग लागेकाहरुले विशेषतः व्यक्तिगत हेरचाहमा ध्यान पुर्याउनुपर्ने हुन्छ । उच्च मनोवलका साथ रोगको प्रतिकार गर्न सके सहज जीवन जीउन मद्दत मिल्दछ । 

पार्किन्सनको लागि नियमित व्यायाम गर्ने
व्यायाम तपाईंको लागि राम्रो छ । यदि तपाईंको पार्किन्सन छ भने यो तपाईंको लागि विशेष रूपमा राम्रो हो । हप्ताको २.५ घण्टा व्यायाम गर्नाले तपाईंको लक्षणहरूको प्रगति सुस्त गर्न मदत गर्दछ । व्यायामले तपाईंलाई शारीरिक लक्षणहरू र अन्य लक्षणहरू जस्तै निद्रा समस्याहरू, थकान, मुड र मानसिक स्वास्थ्यलाई व्यवस्थित गर्न मद्दत गर्दछ । व्यायाम तपाईंको औषधी जत्तिकै महत्वपूर्ण हुन सक्छ, तपाईंको व्यवहार नियन्त्रण गरी लक्षणहरुलाई ब्यवस्थापन गर्न सहयोग पुर्याउन ।

पार्किन्सनको लागि ध्यान र माइंडफुलनेस क्रियाकलाप गर्ने 
माइन्डफुलनेस टेकनीकहरूको सावधानीपूर्वक अभ्यासले मानसिक स्वास्थ्य लक्षणहरू जस्तै चिन्ता र उदासीनतामा कम गर्न मद्दत गर्दछ । 

पर्याप्त सुत्ने
निद्रा र रातको समयका समस्याहरू पार्किन्सनको लागि सामान्य हो । निन्द्राले कुनै पनि चरणमा असर गर्न सक्दछन् । प्रयाप्त निन्द्राको अभावले व्यक्ति थकित र चिन्तित महसुस गराउँछ । त्यसैले पर्याप्त सुत्ने र निन्द्राको तालिका अनुसार व्यवस्थित गर्ने ।

सन्तुलित खानपान
स्वस्थ र पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्छ । घरमा भएका पार्किन्सनको समस्या भएका सदस्य लाई अझ ध्यान दिएर पौष्टिक आहार खुवाउनु पर्छ । अल्कोहल र क्याफिनको प्रयोग  नगर्ने ।

डा. ठगुन्ना पिके क्याम्पसमा अध्यापन गराउँछन्, उनी द स्कुल अफ साईकलोजी नेपालका अध्यक्षसमेत हुन् ।

तपाईँको मत