गाउँ सहर

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस

पाेखरा । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस  सम्पन्न भएको छ । पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिए । 

“संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ, नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ, प्रमुख गुरुङले भने, नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ, त्यस कारण जनप्रतिनिधि जनताले दिएको जिम्मेवारीको स्मरण गर्दै छातीमा हात राखेर जनताको सेवामा समर्पित हुनुपर्छ ।” नागरिकहरूलाई सेवा दिने क्रममा दलीय स्वार्थको गन्ध आउन नहुने भन्दै उनले निस्वार्थ भावका साथ सेवा दिनुपर्ने बताए ।

स्थानीय सरकारका सामु जनताको अपेक्षा पुरा गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले उपयुक्त योजनाको सफल कार्यान्वयन मार्फत जनअपेक्षा पुरा गर्नुपर्ने बताए ।

समारोहमा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा सम न्यायिक विकासमा जोड दिए । 

पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको दाबी गरे । 

पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पुरा गर्न आफुनहरु प्रतिबद्ध रहेको बताए। पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिइन् । 

पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई. प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको थियाे । 

यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्की, श्री पश्चिम पृतना हे.क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ स्टार यूथ क्लब पोखरा २७, श्री भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लि, दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो । 

महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित भए ।

यस्तै नेत्रप्रसाद तिमिल्सीना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापा मगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोक दर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरिएको थियो । सर्वोत्कृष्ट कर्मचारी कडरियालाई नगद रु.२५ हजार र अन्यलाई नगद रु.१५ हजारका दरले सम्मान गरिएको हो । 

सो अवसरमा पोखरा महानगरपालिकाद्धारा प्रकाशित पोखरा दर्पण विशेष अङ्क समेत विमोचन गरिएको छ भने, होटेल ग्रान्डलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । यस अधि पोखराको मानवअधिकार चोक देखी पोखरा सभागृहसम्म प्रभात फेरी गरिएको थियो । महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाइ तथा कर्मचारी र जनप्रतिनिधि बिभ मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो ।

तपाईँको मत