शिक्षा

वीर आधारभूत विद्यालयले मनायाे स्वर्ण जयन्ती

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा रहेको  वीर आधारभूत विद्यालयले विद्यालय स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा  स्वर्ण जयन्ती मनाएको छ ।  

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षामा सरकारले ठुलो लगानी गरे पनि लगानी अनुसारको प्रतिफल प्राप्त नभएको गुनासो गर्दै सामुदायिक र संस्थागत विद्यालयका राम्रा शैक्षिक अभ्यासहरु एक आपसमा अनुसरण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

विद्यालय ५० औं वर्षसम्म ल्याइपुर्याउन महत्वपुर्ण योगदान गर्नुहुनेप्रति आभार व्यक्त गर्दै थप उचाइमा लैजान सवैको साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिए ।

उक्त विद्यालयका पूर्व विद्यार्थी समेत सहेका पोखरा महानगरपालिका वडा नंं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले अभिभावक, शिक्षक र विद्यार्थीको उचित समन्वयमा मात्रै विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्ने धारणा राखेका थिए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमचन्द्र अधिकारीले विगतका गतिविधिलाई समेट्दै भावी योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा शिक्षा समिति पोखरा २७ का सदस्यहरु चतुराखर अधिकारी, यमबहादुर रोक्का, राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघकी जानुकार अधिकारी, लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु सु.मेजर जगवहादुर गुरुङ, क्या. धनवहादुर गुरुङ, नेपाली कांगे्रस वडा नंं २७ का सभापति नारायणमणि लामिछाने, नेकपा एमाले वडा नंं २७ का अध्यक्ष सूर्यमणि लामिछाने, नेकपा माओवादीका गोविन्दराज वाग्ले लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

 

विद्यालयको स्थापनाकालदेखि हाल सम्म विभिन्न ओहोदामा रहेर विद्यालयलाई सहयोग पुर्याउनेहरुलाई प्रमुख अतिथिवाट प्रसंसा पत्र र देसोल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

विविध सांस्कृतिक प्रस्तुतीहरु रहेका उक्त कार्यक्रममा छिमेकी विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीका तर्फवाट र अभिभावकहरुका तर्फवाट समेत नृत्य प्रस्तुत गरिनुका साथै उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको संचालन शिक्षकद्धय विन्दु सुवेदी र रीता देवकोटाले गरेका थिए ।

 

वि.सं.२०२९.सालमा रिठेपानी क्षेत्रका शिक्षाप्रेमी एवं समाजसेवीहरुको पहलमा वीर प्रा.वि. को नाम बाट तत्कालीन अर्घौं ३ किपटमा स्याउलाको झुप्रोबाट स्थापना गरी स्थानीय स्व. भक्त बहादुर गुरुङ्ग लाई सहयोगी शिक्षकको रुपमा नियुक्त गरिएको यो विद्यालय  हाल वाल कक्षादेखि  आठ सम्म सञ्चालित  छ । विद्यालयमा हाल  १६९  विद्यार्थी अध्ययनरत छन भने १० जना शिक्षक र १ कर्मचारी कार्यरत रहेका छन ।

तपाईँको मत