गाउँ सहर

घर-घरमा बम ! ग्यास प्रयाेगकर्ताहरूले अनिवार्य थाहा पाउनैपर्ने कुराहरू, कसरी गर्ने सुरक्षा ?

फाइल तस्बिर

काठमाडाैं । ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे  मृत्यु भएको हो । 

कांग्रेस सांसद चन्द्रको कीर्तिपुरमा उपचार जारी छ । 

सांसद भण्डारीको अनुहार, दुबै हात, दुबै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ । उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको थियो ।

यो घटना बुधबार रातिको हो ।

नेपालमा पछिल्ला वर्षहरूमा ग्यास प्रयाेगका क्रममा असावधानीकाे कारण दुर्घटनाहरू बढ्दै गएका छन् । यद्यपि केही सचेत रहन सक्ने हाे भने ग्यासकाे प्रयाेगकाे क्रममा हुने दुर्घटनालाई धेरै हद सम्म कमी गर्न सकिन्छ ।

नेपालमा पछिल्ला बर्षहरूमा ग्यास प्रयाेगकर्ताहरूकाे सङ्ख्या बढ्दाे छ । घरायसी देखि व्यावसायिक प्रयाेजनकाे लागि प्रयाेग गरिने ग्यासकाे प्रयाेग पछिल्ला वर्षहरूमा ग्रामीण क्षेत्रहरूमा समेत निकै नै बढेकाे छ । नेपालीहरूले वैदेशिक राेजगारीकाे क्रममा विदेशबाट कमाएर ल्याएकाे रेमिट्यान्सकाे कारण नेपालीहरूकाे जीवनस्तरमा समेत फेरबदल आएकाे छ । विगतकाे तुलनामा नेपालीहरू सुविधामुखी हुँदै गएकाे अहिलेकाे परिप्रेक्ष्यमा ग्यासकाे घरायसी प्रयाेग बढ्दाे छ ।

एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको विज्ञहरू बताउँछन् । सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने गरेको छ विज्ञहरूकाे भनाइ छ । 

यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि त्यसता घटना हुने गरेको पाइएको छ । त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउन सक्छ ।

दुर्घटनाबाट बच्ने उपायहरू के-के हुन सक्छन् ?

१. सामान्यतया ग्यास प्रयाेगकाे क्रममा हामीले विभिन्न कुराहरू विचार गर्नुपर्ने हुन्छ । ग्यासकाे सिलिण्डरलाई ल्याउँदा लैजाँदा गुडाउनु हुँदैन । प्रयाेगकाे क्रममा सिलिण्डरलाई सुताउन र घाेप्ट्याउनु पनि हुँदैन ।

२. ग्यासकाे प्रयाेगकाे क्रममा प्रयाेग गर्नै  नहुने प्लाष्टिकका पाईपहरू प्रयाेग भइरहेका छन् । ती प्लाष्टिकका पाईपहरू मुसाले खाने, छिट्टै आगाेबाट जल्ने हुनाले विगतमा ठूला-ठूला दुर्घटनाहरू भइ धनजनकाे क्षति भएकाे छ । त्यसकारण ग्यासकाे प्रयाेगमा गुणस्तरीय रबरकाे पाईप प्रयाेग गर्नुपर्छ । जुन तारैतारले जेलिएकाे हुन्छ । यसलाई हत्तपत्त मुसाले काट्न सक्दैन । साथै छिट्टै जल्ने समस्या पनि रहँदैन ।

३. आगाेले छिट्टै समात्ने वस्तुलाई सिलिण्डरकाे नजिक राख्नुहुँदैन । समय-समयमा पाइप र चुल्हाेकाे सफा गर्नुपर्छ भने २ बर्षमा पाईप फेर्ने हाे भने सुरक्षित रहन सकिन्छ ।

४. अधिकांश नेपालीहरूले जानकारी नपाएकाे अर्काे विषयकाे रूपमा दूरी समेत रहेकाे छ । सामान्यतया सिलिण्डर र चुल्हाेकाे दूरी कम्तीमा २ मिटर हुनुपर्छ । यसबारे हामी विशेष सतर्क र सचेत रहनुपर्छ ।

५. ग्यास प्रयाेगकाे क्रममा झ्यालढाेकाहरू खुल्ला राख्नुपर्छ ।

६. खाना पकाउने क्रममा सुतीकाे कपडा वा एप्राेन लगाउनुपर्ने हुन्छ । यसले तत्कालै आगाे समात्दैन । तर नेपालीहरू यसमा पनि सचेत हुन सकेका छैनन् ।

७. भान्सामा सेफ्टी क्याप अनिवार्य राख्नुपर्ने हुन्छ । यदि ग्यास लिग भइहाल्याे भने यसलाई राेक्न सकिने एकमात्र महत्वपूर्ण उपाय भनेकाे यसकाे सेफ्टी क्याप नै हाे ।

८. ग्यास खरिद गर्दा सम्बन्धित कम्पनीकाे आधिकारिक डिलरबाट मात्रै खरिद गर्नु जरूरी रहन्छ । किनकि आधिकारिक डिलरहरू जिम्मेवार र सुरक्षासँग जानकार हुन्छन् ।

९. अधिकांश दुर्घटनामा मिति सकिएका अर्थात पुराना र कुच्चिएका सिलिण्डरहरू प्रयाेगबाटै भएकाे पाइन्छ । त्यसैकारण यसप्रति विशेष सतर्क रहनुपर्छ ।

१०. सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन । त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन् ।

११. सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस्। त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस् । यदी सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झेयाल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस् ।

ग्यास लिकेज भइहालेमा के गर्न सकिन्छ ?

१. ग्यासकाे गन्ध आइरहेकाे छ भने ग्यास लिक भएकाे छ भन्ने बुझ्नुपर्छ । यस्ताे अवस्थामा पहिले रेगुलेटर बन्द गर्नुपर्छ । त्यसपछि चुल्हाे बन्द गर्नुपर्छ ।

२. आगाेकाे झिल्काे निस्कने कुनै पनि वस्तुहरू लिक भएकाे अवस्थामा नजिक राख्न वा बाल्नु हुँदैन ।

३. ग्यास लिक भइरहेकाे सिलिण्डरबाट रेगुलेटर छुटाई सेफ्टी क्याम्प लगाएर सिलिण्डरलाई खुल्ला ठाउँमा राख्नुुपर्छ ।

४. आफुलाई जानकार वा अनुभव नभए तुरून्त तालिमप्राप्त व्यक्ति वा ग्यास डिलर वा उद्याेग वा सुरक्षाकर्मीलाई सम्पर्क गर्नुपर्छ ।

ग्यास बचतका उपायहरू पनि छन् ः

१. चुल्लाे बाल्नु पहिले पकाउने वस्तुहरू ठीक्क पार्नुपर्छ ।

२. खानेकुरा उम्लिन थालेपछि आँच  वा राप कम गर्नुपर्छ ।

३. गेडागुडि पकाउनुपूर्व भिजाएर राख्नुपर्छ ।

४. सकभर परिवारका सबै सदस्यहरूले एकैपटक खाना खानुपर्छ ।

५. खानेकुरा सकभर प्रेसरकुकरमा पकाउनुपर्छ ।

६. नियमित रूपमा चुल्हाे सफा राख्नुपर्छ ।

७. गुणस्तरीय रेगुलेटर, रबर पाईप र चुल्हाे मात्रै प्रयाेग गर्नुपर्छ । यसकाे लागि गुणस्तर मापदण्डअनुसारकाे  चिन्हयुक्त सामान हेर्नु जरूरी छ । नेपालमा उत्पादित सामानकाे निम्ति NS चिन्ह अङ्कित गरिएकाे हुन्छ भने अन्य देशका सामानहरूमा ISI तथा ISO चिन्ह उल्लेख गरिएकाे हुन्छ ।

यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन् ।

थाहा पाइराख्नुस्

ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।

त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ । यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन । अहिलेको मितिलाई ए १६ ले जनाउँदछ । तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ ।

एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ ।

हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ । सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन ।

सिलण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ । फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन । केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ ।

यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ । सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ ।

सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ । लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन् । ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ । अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत