राजनीति

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चाले तरङ्ग

काठमाडाैं  । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भेटपछि नेपाली राजनीतिमा गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउन खाेजिएकाे त हाेइन भन्ने शंसय पैदा भएकाे छ । 

राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको खोजी भइरहेका बेला देउवाले गरेको यस भेटघाटलाई पार्टीभित्रै पनि अर्थपूर्णरुपमा हेरिएको छ । सरकार गठनका लागि सांसद संख्याको जोडघटाउ भइरहेका बेला नेपथ्यमा भने राष्ट्रपति पदमा गैरराजनीतिक व्यक्ति ल्याउने प्रपञ्च भइरहेको कतिपयकाे बुझाइ रहेकाे छ ।

तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा पनि खिलराज रेग्मी वा त्यस्तै व्यक्तिलाई राष्ट्रपति बनाउन खोजिए मुलुकका लागि दूर्भाग्य हुने बताएका छन् ।

देउवा निकटका कांग्रेस नेता रमेश लेखकले पनि सभापति राष्ट्रपतिमा जाने विषयमा औपचारिक वा अनौपचारिक कतै पनि छलफल नभएको बताए । 

सरकार गठन र राष्ट्रपति निर्वाचनको विषयमा दलहरूबीच स्पष्ट छलफल नहुँदै छिमेकीको चासो भने तीव्र रूपमा बढेको छ । मतगणना भइरहेकै बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । निर्वाचनपछि नै प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच दुई पटक भेटघाट भएको छ ।

प्रधानमन्त्रीले शक्ति राष्ट्रहरूको चासोलाई वास्ता गर्दा देशको राजनीति र जनमतलाई पनि सम्मान गर्नुपर्ने कांग्रेसकै नेताहरूको भनाइ छ ।

गाउँ सहर डेस्क

तपाईँको मत