दृष्‍टिकोण

‘दिगाे विकासमा स्थानीय जनताकाे मत’

[सीप-सशक्तिकरण र साना समूहमा जसले विपन्न वर्गमा काम गरेको छ उसलाई जिताउँदा स्थानीय सरकार दिगो हुन्छ]

काठमाडौँ । संघीय गणतान्त्रिक संविधानपछि ३० गते हुने यो चुनाव स्थानीय निर्वाचनको दोस्रो अध्याय हो । अझ भनौँ पहिलो चुनावले गर्न नसकेका काम पूरा गर्ने र भावी विकासको रुपरेखा कोर्ने समय हो । अनेकन समस्याहरु पूरा भएनन् त्यो छुट्टै कुरा होला तर आगामी दिनमा विकासलाई कसरी दिगो बनाउँदै जीवनस्तरमा खुसी ल्याउने भन्ने आधार हो यो स्थानीय चुनाव ।

सबैले बुझेका छौँ, विकासको नाममा हामीले झेलीलाई साथ पनि दियौँ । किनकी यो समयको आवश्यकता थियो । बाटो नपुगेको ठाउँमा हामीलाई बाटो पुर्याउनुथियो । के सहि र के गलत हामीले सोचेनौँ, सोच्यौँ त केवल बाटो । तर बाटो पुर्याएपछिको वातावरणीय र सामाजिक आयामलाई हामीले भूल्यौँ । फलतः विकास सोचेजस्तो भएन, भएको छैन । यसकारण अबको मत दिगो विकास योजनालाई भन्दा फरक नपर्ला ।

बिक्ने र बिकाउने मत होलान्, तर दिगो विकासको लागि लगाइने स्वस्तिक छापले भावी पीढिमा खुसी छाउँछ । जन नै नरहेपछि कसको लागि विकास गर्ने ? यसकारण क्षणिक लाभले यसपटक मत पाउनुहुन्न । यदि पाउने हो भने लामो समयसम्म रहने विकास प्रक्रिया ओझेलमा पर्छ ।

त्यस्तो सहयोगले विकास होइन, विनास निम्त्याउँछ । सुख होइन, दुःख ल्याउँछ । अनि छोटो समयमा राजा हुनेको संख्या वृद्धि गराउँछ भने गरिब झन गरिब हुने अवस्था आउँछ । यसकारण भोट दिने बेलामा मुलको पानी वा रंग सम्झेर होइन, दिगो विकासको खाका कोर्नसक्नेलाई दिँदा विकास फल्छ । लाख पटक सोचेर भोट हाल्न सकियो भने विकासले अमरत्व प्राप्त गर्छ ।

विकासको नाममा विभिन्न भत्ता, टावर, गोष्ठी, संस्थाका कार्यक्रम होइन, सीप-सशक्तिकरण र साना समूहमा जसले विपन्न वर्गमा काम गरेको छ उसलाई जिताउँदा स्थानीय सरकार दिगो हुन्छ । किनकी गरिबलाई माछा खान होइन, माछा मार्न सिकाएमा मात्र उसले भविश्य सुरक्षित गर्न सक्छ ।

विकासको नाममा मौलाएको भ्रष्टाचार जबसम्म हामी चिन्न र चिर्न सक्दैनौँ, यहाँ केहिको मात्र उन्नति भइरहन्छ अनि विपरित धेरैको उठिबास भइरहन्छ । यस्ता कुकृत्यलाई नचिने र ठेगान नलगाएसम्म जनताले हारिरहन्छन् । यसकारण पनि दिगो विकासमा मत दिनै पर्छ ।

संघीयताले विकास ल्याउँछ, गाउँ गाउँमा सिंहदरबार हुन्छ भन्दैगर्दा यो पहिलो कार्यकालसम्ममा पूर्ण प्राप्त हुन सकेको छैन । सबैको प्रयास भने जारी छ । तर गाउँका पनि सिंहदरबारमा केहि सिंहले मात्र राज गर्नाले संघीयताको आभास जनताले गर्न पाएका छैनन् ।

भनिएका सहरमा हेर्नुहोस् चुनावको मुखमा त फोहोर उठेको छैन, अब भन्नुहोस् सहरबाट गाउँ गएका जनताले राम्रो सडकबाट यात्रा गरेर घर पुगेका छन् ? अब तपाईंले कसलाई किन मत दिने ? जसको गाडी चढेर गएको छ उसलाई ? कि विवेक पुर्याएर मत दिनुहुन्छ ? शिक्षक, पत्रकार, ठेकेदार, तालुकदार, चाटुकदार...कसलाई ?

अबपनि भाेट दिनेबेलामा तिनपूस्ते हेर्नुहुन्छ ? पात्राे हेर्नुहुन्छ ? यदि साे गर्नुहुन्छ भने हामी लाेकतन्त्रलाई धुजा पार्दैछाैँ । असमानता लादियाेस् भन्ने यात्रामा छाैँ । अवसर सबैले नपाउन भन्ने पक्षमा छाैँ । स्थानीय निर्वाचनले राखेकाे उद्धेश्य याे हाे त ? भाेट दिने बेलामा हजार पटक साेचाैँ । कसैकाे डर, धम्की, बहकावमा भाेट नहालाैँ ।

यी सबै कुराहरुलाई मनन गर्दै यसपटक काम गर्ने, जो विवादरहित र कुनै अभियोग नभएको छ त्यसलाई भोट दिएमात्र तपाईं हामीले सोचेजस्तो स्वच्छ, सफा, र फराकिलो समाजको कल्पना सम्भव छ । तपाईंको विवेकले सक्ने र योग्य मानिस छुटाउन मिल्दैन । यसको मतलव यस चुनावमा दिगो विकासमा मत अपरिहार्य छ ।

गाउँ सहर डेस्क

तपाईँको मत