प्रेरणा

'सफलता सम्भव छ' - डा. बुद्धि मल्ल

काठमाडाैँ । सफलता सम्भव छ - बैंकर डा. बुद्धि मल्लद्वारा लिखित पुस्तक बजारमा आएकाे छ । शिखा बुक्सले प्रकाशन गरेकाे जीवन उपयाेगी पुस्तकमा ४१ वटा लेख समेटिएका छन्, जसकाे मूल्य ४५० रूपैयाँ रहेकाे छ ।

प्रस्तुत पुस्तककै एउटा लेख - सफलता सम्भव छ यहाँ समेटिएकाे छ ।

उहिले उहिले किराहरूको आकार पनि जनावरहरू जत्रै हुन्थ्यो रे । त्यसैले किराहरू र जनावरहरू एकअर्कालाई प्रतिस्पर्धी ठान्थे । एक दिन यिनीहरूबीच फुटबल खेलिएछ । खेल सुरु हुने बित्तिकै किराहरूले ड्याङ ड्याङ गोलको वर्षा गर्न थाले र २०-२ ले किराले जिते । त्यसमध्ये १८ गोल खजुरोले हानेछ भने जनावरहरूका तर्फबाट खरायोले १ र हात्तीले १ गोल मात्र गर्न सफल भएछन् ।

लज्जास्पद हारपछि जनावरहरूको बैठक बसेछ । जाबो किराहरूसँग पनि हार्नुपर्ने स्थिति कसरी आयो भन्ने समीक्षा गर्दा बैठकमा स्यालले भनेछ- खजुरोको १०० वटा खुट्टा भएकाले उसले एउटा खुट्टाबाट अर्को खुट्टामा बल पास गर्दै अरूलाई बल छुनै नदिने भएकाले हाम्रो हार भएको हो । त्यसैले अबदेखि जुत्ता लगाएर मात्र खेल्न पाउने नियम राख्यौं भने हामीले जित्न सक्छौं । यदि जुत्ता लगाउनुपर्ने भयो भने खजुरोलाई जुत्ता लगाउनै समय लाग्छ र यदि लगाएर खेल्नै आयो भने पनि उसलाई १०० वटा जुत्ता सन्तुलन गर्ने र तुना मिलाउन नै झन्झट हुन्छ र उसले खेल्न सक्दैन ।

स्यालको यस्तो प्रस्ताव सर्वसम्मतले पारित भएछ । अर्को खेलमा जुत्ता मिलाउँदा मिलाउँदा खजुरो खेलमा आधा घन्टा ढिलो आउँछ र आएपछि पनि जुत्ता मिलाउँदैमा ठिक्क हुन्छ । फलस्वरूप जनावरहरूले किराहरूलाई शानदार तरिकाले जितेर पहिलाको हारको बदला लिन्छन् । माथिको कथाबाट कुनै पनि नयाँ काम गर्दा असफलता मिल्न सक्छ । तर, लगातार कोसिस गरिरह्यो भने एक पटक सफलता प्राप्त भइहाल्छ । तर, त्यस असफलताबाट पाठ सिकेर नयाँ तरिकाले कोसिस गर्नुपर्छ । यदि काम गर्ने तरिका परिवर्तन नगरीकन उही तरिकाले कोसिस गरेर सफलताको आशा गर्नु मुर्खता हुन्छ । पहिला असफलता भोग्दा कहाँ कहाँ कमजोरी भएको थियो भन्ने समीक्षा गरेर त्यसपछि कमजोरीलाई सच्याएर अगाडि बढ्नु नै सफल मानिसको गुण हो । कथामा स्यालले बडो चतुऱ्याइँका साथ जनावरहरूको कमजोरी औंल्याएर रणनीति बनायो । त्यो रणनीति नै उनीहरूको खेल जित्ने साधन बन्यो ।

एउटा स्याल एकदमै फूर्तिलो थियो र ऊ आफ्नो फूर्तिलो शरीरप्रति निकै गर्व गर्थ्यो । एक दिन घुम्दै जाँदा एउटा गाउँमा पुग्यो । धेरै दिनको घुमघामपछि एकदमै भोकाएको स्यालले गाउँमा राम्रा राम्रा कुखुरा देखेपछि उसको मुख रसाउँछ र बडो फूर्तिका साथ कुखुरा समात्न दौडिन्छ । तर, ती कुखुराहरू स्यालभन्दा पनि बढी फूर्तिका साथ उड्दै भाग्छन् । स्यालले कुखुरा समात्न सक्दैन। ऊ भौकै पर्छ ।

अर्को दिन पनि त्यस्तै हुन्छ, तेस्रो दिन पनि स्याल भोकै पर्छ। भोकले स्यालको शक्ति पनि कम भइसक्छ । तीव्र गतिले दौडिन नसक्ने भएकाले उसले कुखुरा कसरी समात्ने भनेर राती सोच्न थाल्छ र उपाय पत्ता लगाउँछ । भोलिपल्ट स्यालले 'चिल आयो, चिल आयो' भनेर कराउँछ। सबै कुखुरा चिलबाट बच्नका लागि आकाशतिर हेर्दै भाग्न थाल्छन् । कुखुराको ध्यान आकाशतिर भएका बेला स्यालले मौका पारी एउटा कुखुरा समातिहाल्छ र मज्जाले धेरै दिनको भोको पेट भर्छ । यसरी ३ दिनसम्म असफल भएको स्यालले आफ्नो रणनीति परिवर्तन गरेर चौथो दिन कुखुरा समात्न सफल हुन्छ ।

स्यालको कथाले कुनै पनि कार्यमा सफलता पाउनका लागि लगातार कोसिस गरिरहनुपर्छ । तर, एकै प्रकारको कोसिसले लगातार असफलता प्राप्त भइरहेको छ भने काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको थियो । स्यालले चौथौ दिन पनि पहिलो, दोस्रो र तेस्रो दिनमा जस्तै लखेट्न मात्र खोजेको भए फेरि पनि असफल नै हुन्थ्यो । किनभने लगातार असफलता र भोकले उसको शारीरिक क्षमता तथा मनोबल पनि कमजोर भइसकेको थियो । त्यसैले चतुर स्यालले आफ्नो यस अवस्थालाई मूल्यांकन गरेर बलको माध्यमबाट मात्रै सफल हुन सक्दिनँ भन्ने महसुस गरेर बलका साथै बुद्धि पनि निर्णय गरेर 'चिल आयो, चिल आयो' भनेर कुखुरालाई अलमल्याएपछि कुखुरा समात्न सफल भएको थियो ।

विश्वविख्यात लेखक नेपोलियन हिलले पुस्तक 'थिंक एन्ड ग्रो रिच' मा भनेका छन्- सक्षमता र सफलता निरन्तर मिहिनेत र संघर्षबाट प्राप्त हुन्छ । यसबाट नेपोलियन हिलले निरन्तर मिहिनेत र संघर्ष गर्दा प्राप्त भएको असफलताबाट पाठ सिकेर फेरि कोसिस गर्ने व्यक्ति सफल हुन्छ भन्ने उल्लेख गरेका छन् । मानिसलाई कुनै पनि काम गर्दा असफलता भोग्नैपर्ने हुन्छ । यदि कुनै मानिस असफल भएको छैन भने उसले प्रयास नै गरेको छैन भन्ने बुझ्नुपर्छ ।

ड्रिउ म्याकेन्टायर करिअरको सुरुवातमा एक असफल रेस्लर थिए । निरन्तर असफलता भोगेपछि उनले आफ्नो शरीर बनाउन ध्यान दिए र फरक रेस्लिङ दाउपेच लिएर फेरि मैदान प्रवेश गरेर उनले अहिले आफूलाई डब्लूडब्लूईका अहिलेका ठूला सुपरस्टारका रूपमा स्थापित गराउन सफल भएका छन् । सनथ जयसूर्या, साहिद अफ्रिदीले बलरका रूपमा क्रिकेट करिअर सुरु गरेर औसत मात्र सफलता प्राप्त गरिरहेका थिए । पछि उनीहरूले आफ्नो ब्याटिङमा सुधार गरे र दुवै जनाले संसारकै उत्कृष्ट अलराउन्डरका रूपमा आफूलाई स्थापित गरे । भारतका पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध खराब ब्याटिङको कारण ४ वर्षसम्म भारतको राष्ट्रिय टिमबाट बाहिर भएका थिए । सिद्ध आफ्नो ब्याटिङ कलामा सुधार गरेर छक्का हान्ने कलामा माहिर भए । छक्का विरलै हान्ने त्यस समयमा सिद्धको गज्जबको छक्का हान्न सक्ने कला देखेर फेरि राष्ट्रिय टिममा छानिए । डिउ म्याकेन्टायर, सनथ जयसूर्या, साहिद अफ्रिदी, नवजोत सिंह सिद्ध जस्ता सफल खेलाडीहरूको उदाहरणबाट असफलता बेहोरिराख्नु परे तापनि फरक रणनीतिका साथ प्रयास गर्यो भने अवश्य पनि सफल हुन सक्छ भन्ने पाठ लिन सकिन्छ ।

सबै मानिसको जीवनमा असफलता बास बस्न आइपुग्छन् । तर, सफल मानिसहरूले सफलता पाउनका लागि रणनीतिमा परिवर्तन गर्दै निरन्तर प्रयास गर्छन् र सफल हुन्छन् भने असफल मानिसहरूले निरन्तरता दिन पनि सक्दैनन् र रणनीति पनि परिवर्तन गर्दैनन् । रणनीति परिवर्तन नगरीकनै फरक नतिजाको आशा गर्नु सुन्तला रोपेर स्याउको आश गर्नु जस्तै हुन्छ । यसपटक स्याउ फलेन भनेर अर्को पटक पनि सुन्तला रोपेर त्यस बोटमा स्याउ फल्न सक्दैन । जति कोसिस गरे पनि सैयौं पटक रोपे पनि सुन्तलाको बोटमा स्याउ फल्दैन । त्यसैले, प्रयास मात्र गरेर हुँदैन, सही प्रयास गर्नुपर्छ, रणनीति परिवर्तन गर्नुपर्छ । असफलताबाट पाठ सिकेर फरक रणनीति सहित निरन्तर प्रयास गरिरहहे सफलता प्राप्त गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

पनेरू रमेश लेख्नुहुन्छ ९ असार, २०८० ०९:१७ am

असफलताबाट पाठ सिकेर फरक रणनीति सहित निरन्तर प्रयास गरिरहहे सफलता प्राप्त गर्न सकिन्छ । वा...

रमेश थापा लेख्नुहुन्छ ९ असार, २०८० ०९:१६ am

सरल शब्दकाे किताव, जाे काेहिले बुझ्न सक्ने । बधाइ

गण्डकी कान्छाे लेख्नुहुन्छ ९ असार, २०८० ०९:१५ am

हाम्रातिर कहिले अाउला सर ?

अनल खड्का लेख्नुहुन्छ ९ असार, २०८० ०९:१४ am

याे पुस्तक स्कुल स्तरमा काेर्षमा नै राख्नुपर्ने देखियाे, निकायकाे ध्यानाकर्षण हाेस् ।

काजी शेर्पा लेख्नुहुन्छ ९ असार, २०८० ०९:१३ am

डा सावकाे यात्रा नराेकियाेस् । शुभकामना

admin लेख्नुहुन्छ ९ असार, २०८० ०९:१२ am

जीवन उपयाेगी पुस्तक ।

Ramesh Neupane लेख्नुहुन्छ ९ असार, २०८० ०९:११ am

मैले त पढिसकेँ, सबैलाइ पढ्न अनुराेध गर्छु ।

नम्रता रेग्मी लेख्नुहुन्छ ९ असार, २०८० ०९:१० am

Dr. sab lai badhai xa

Keshav Sandai लेख्नुहुन्छ ९ असार, २०८० ०९:१० am

Good Work.

Salikram Lamichhane लेख्नुहुन्छ ९ असार, २०८० ०९:१० am

Ma chadai padnexu, motivative book.

तपाईँको मत