राजनीति

पाँच दलीय गठबन्धनले गरे चुनावकाे मुखमा यस्ताे अपील

काठमाडाैँ । पाँच दलीय गठबन्धनले जनताकाे नाममा अपील गरेका छन् । चुनावकाे दिन आउने दुइदिन अघि/माैन अवधि सुरू हुने दिन उनीहरूले जनताकाे नाममा अपील गरेका हुन् ।

जारी अपीलमा गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै रहेकाे भन्दै मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गरिएकाे छ ।

अपील यस्ताे छ

बैशाख २७, २०७९

हाम्रो अपील

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

पटकपटकको बलिदानीपूर्ण संघर्ष र त्याग पश्चात निरङ्कुशताको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको तथ्य सबैमा अवगत नै छ । देशमा निरङ्कुशता विरुद्धको संघर्षमा तेस्रो पुस्तासम्मले रगत र पसिना बगाउनु परेको छ । हामी लोकतन्त्र र स्वतन्त्रताको संघर्षमा होमिदै दिवंगत हुनुभएका प्रातः स्मरणीय महान शहिदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

संविधानसभा मार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसदमाथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धीलाई जोगाउन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको विदितै छ । दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको होे । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौं । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताको लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको संघर्षकै परिणाम आज राज्य संरचना बदलिएर समावेशी चरित्रको बन्न सम्भव भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा स्थानीय सरकारको विशेष अर्थ र महत्व रहन्छ । संघीय लोकतन्त्रको जग नै स्थानीय तह हुन् । निर्वाचनमार्फत स्थानीय तह बलियो र सुदृढ हुँदा नै लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने छ । अतः स्थानीय तहको नागरिकसँग प्रत्यक्ष सम्बन्ध अझ सुदृढ गर्न यो निर्वाचनको विशेष महत्व छ ।

स्थानीय जनप्रतिनिधिले नै जनताका सुख–दुःखमा रहेर प्रत्यक्ष रुपमा काम गर्ने हुन् । स्थानीय तहको निर्वाचनले विकासको गतिलाई अघि बढाउने छ । निर्र्वाचित जनप्रतिनिधिहरु नागरिकका पीरमर्कासँग घुलमिल हुँदा लोकतन्त्र थप मजबुत हुने छ । नागरिक अधिकार सुदृढ पार्न समेत स्थानीय निर्वाचनले विशेष भूमिका निर्वाह गर्ने भएकाले यहाँहरुको अमूल्य मत मुलुकको भाग्य र भविष्य निर्धारणमा निर्णायक रहन्छ ।

प्रतिगमनविरुद्धको संघर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुब सत्य हो । असंवैधानिक रुपमा संसद विघटन गरिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता बिषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय संकटको अवस्थामा थियो । पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सह्मालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ ।

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित छ । स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सहि ढंगले लोकतन्त्रको बाटोमा दोहो¥याउन सक्ने हाम्रो ठहर छ । जनताले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिँदै मुलुकको वृहत्तर हितका खातिर जनभावना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि पर्ने प्रण समेत हामी गर्दछौं ।

स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं । हामी सबै क्षेत्र, वर्गको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने छौं । महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबैको हक हित र अधिकारको जगेर्नाका लागि हाम्रो साझा प्रयत्न, संकल्प र प्रतिबद्धता रहने छ । आम मतदाता नागरिक नै हाम्रो शक्तिका स्रोत हुन् । यसर्थ, बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दछौं ।

अन्त्यमा, गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ । मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं । साथै, उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपील गर्दछौं ।

धन्यवाद ।

शेरबहादुर देउवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल उपेन्द्र यादव दुर्गा पौडेल

प्रधानमन्त्री तथा अध्यक्ष अध्यक्ष अध्यक्ष उपाध्यक्ष

सभापति, नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा

गाउँ सहर संवाददाता

तपाईँको मत