गाउँ सहर

२७ औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

काठमाडाैं । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । ६ दिनसम्म संचालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ ।

हालै राजधानी काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो । 

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी Exhibition को यो २७ औँ संस्करण यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ ।

आयोजनाले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । 

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ । सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि सम्बन्धि अध्ययन एवम् कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन् । 

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । 

प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने बिश्वास लिइएको छ । साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले सम्वन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौं । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष अपेक्षा राखेकाे जनाइएकाे छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी Virtual Exhibition समेतको ब्यबस्था हुन गइरहेको छ ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू जस्तैः ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुनेछन् । 

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।  यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्ने बताइएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत