गाउँ सहर

६३ लाख कालाे धनसहित तीन जना पक्राउ

काठमाडाैं । स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका हुन् । गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने  बिहीबार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए । ज ९ प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख रुपैयाँ बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

भारतबाट स्रोत नखुलेको करिब आठ लाख रुपैयाँसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो ।  भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी  साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको सात लाख ९१ हजार रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका  दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा  लगिएकामा कार्यालय बन्द भएकाले आज  बुझाइएको प्रहरीले जानकारी दिएकाे छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत