कोदो खेती घट्दो, पिठोको माग उच्च
- ९ कार्तिक सोमबार, २०८३ | ०८:०४:०० मा प्रकाशित
जुम्ला । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला–१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।
यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् । विशेषगरी यहाँको तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती उत्पादन बढी हुने गरेको छ । पछिल्लो समयमा खेती गर्नेको सङ्ख्या घट्दै गएको तिला –५ का वडाध्यक्ष ललित शाहीले बताए ।
हाल कोदोको पिठो प्रतिकेजी २०० ले बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।
परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन । दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा कोदोको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।RSS
प्रतिकृया दिनुहोस