गाउँ सहर

एमसीसीमा अब थप राजनीति नहोस्

काठमाडाैं । एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको छ ।

विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ । संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो ।

सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ सङ्केत होइन ।

तर अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो । त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन ।

एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण - अनुदान लिनु र सन्धि - सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुनेछ ।

आधा भरिएका नैतिकताहीन ढ्वाङहरूको स्वार्थ केन्द्रित नेतृत्व कायम रहेसम्म हामी एकपछि अर्को विभिन्न किसिमका काण्डमा फसिनै रहने छौँ । अतः आगामी निर्वाचनले त्यस्तो नेतृत्वलाई फाल्न दिने मौकाको भरपुर सदुपयोग गर्न विवेकशील साझा पार्टीले देशभक्त आम नेपाली नागरिकलाई अपिल गरेकाे छ । 

विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधन बिना एमसीसी सम्झौता  यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक पटक स्पष्ट रूपमा राख्दै आएको पुन : स्मरण गराउन चाहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत