विश्व

म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

  • एजेन्सी
  • २० मङ्सिर सोमबार, २०७८ | १२:४१:०० मा प्रकाशित

काठमाडाैं । सेनाले कू गरी सत्ताबाट हटाएकी म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। प्रजातन्त्रवादी नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजाय सुनाएको हो।

सुकीमाथि सत्तामा रहेको सैनिक सरकारले कुल ११ वटा अभियोग लगाएको छ। ती सबै आरोप सुकीले अस्वीकार गर्दै आएकी छन्। गएको फेब्रुअरीदेखि उनलाई सेनाले घरमै बन्धक बनाएर राखेको छ। अदालतको फैसलापछि सुकीलाई जेलमा सारिने छ वा घरमै बन्दी बनाएर राखिने छ भन्ने स्पष्ट छैन।

७६ वर्षकी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेता तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि चार वर्षको जेल सजाय भएको छ।

एजेन्सी

तपाईँको मत