गाउँ सहर

डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

काठमाडौं । काठमाडौंमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु, झापा बिर्तामोड नगरपालिका-३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नगरपालिका वडा नं. ३ का २१ वर्षीय आयुष बडु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भरतराज खरेल छन्। 

यसैगरी तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्। 

उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

काठमाडौँ-२४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई उल्लिखित सुन र नगदसहित पक्राउ गरेको हो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत