गाउँ सहर

नेपाल बन्दका कारण जनजीवन प्रभावित

काठमाडौँ । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण थाेरैमात्र गाडी चलेका छन् । यात्रुहरुले सास्ती पाएका छन् ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले दुःख पाएका छन् । प्रायः सबै स्कुल तथा कलेजहरू बन्द छन् । धेरै कलेजमा कुनै सूचना नै नदिइएकाे विद्यार्थीहरूले गुनासाे समेत गरेका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कम चलेका छन् ।

बन्द सफल पार्न नेकपा माओवादीले हिजाे देशका विभिन्न स्थानहरूमा मशाल जुलुस गरेकाे र साथ दिन आग्रह गरेकाे थियाे ।

गाउँ सहर संवाददाता