गाउँ सहर

आज हरिबोधनी एकादशी : धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा यस्ताे छ महत्व

काठमाडाै । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । 

यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु) को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । 

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरि कन्दमूल र फलफूल खाने गर्छन् ।

चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीमा रहेको विशङ्खुनारायण, काठमाडाैंको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालि पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

तुलसी विष्णुकाे प्रिय भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भनी व्याख्या गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाई सुते जगत् सुत्छ, तपाई उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए ।

“यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ”, उनले भने। किसानले उखुको बोट मठमा गाड्छन् ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

एकादशी व्रतको फाइदा

एकादशीको व्रतले धार्मिक एवं सामाजिक हिसाबमा मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्व राख्दछ ।

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मण्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यकता पर्दैन । उक्त दिन पहिचान गर्न सके ती दिनमा खानपान गरिरहनु पर्दैन । त्यतिबेला शरीरले भोजनको माग गर्दैन । यो जैविक पद्धति मानवलाई स्वस्थ राख्न सघाउने प्राकृतिक उपाय हो ।

शारीरिक तन्त्रको यो चक्रलाई धेरैजसोले पहिचान गर्न सक्छन् । यसका लागि उसले आफ्नो दिमागबाट यो कुरा निकाल्नुपर्छ कि, कति क्यालोरी, कति प्रोटिन र कति मिनरल्स लिनु जरुरी छ । मान्छेले आफ्नो शरीरको भाषा बुझ्न सके यी तीन दिन सहजै पहिचान गर्न सक्छ ।

तर, हिजोआज जीवनशैली छाडा भएका कारण मानिसको जागरुकता हराएको छ, उसले शरीरको भाषा बुझ्न छाडेको छ । त्यसै भएकाले अनुमानित समय विचार गरेर एकादशीका दिनलाई व्रत बस्ने दिन निर्धारण गरिएको हो ।

४८ दिनमा तीनवटा एकादशी आउँछ । यो एक संकेत हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयं एक खास दशामा हुन्छ । यस दिन शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले व्रत बस्ने विधान कायम गरिएको हो ।

व्रत बस्ने विविध तरिका छन् । अन्न त्याग, अन्न र फलफूलको त्याग, अन्न र फलफूल मात्र नभई जलको समेत त्याग, दूध मात्र पिउने, पानी मात्र पिउने आदि थुप्रै प्रकारका व्रतोपवासका विधि छन् । तीमध्ये आफ्नो शरीरलाई अनुकूल हुने गरी, आफ्नो शारीकि अवस्था विचार गरेर व्रत बस्नु लाभदायी हुन्छ ।

कुनै पनि कुरामा जबर्जस्ती गर्नु उचित मानिँदैन । तसर्थ एकादशीमा व्रत बस्ने नाममा आफैंलाई हानि हुने गरी भोको बस्नु उचित हुँदैन । कति समय र कसरी भोको बस्दा शरीर र मनलाई राम्रो गर्छ त्यो पत्ता लगाउनुपर्छ ।

यहाँनेर स्मरणीय के छ भने भोको बस्नु र व्रत वा उपवास बस्नु फरक कुरा हुन् । भोको बसेर, अन्न त्याग गरेर वा अनशन बसेर उपवास हुँदैन । उपवासका आफ्नै विधिविधान एवं नियम छन् । कोही मानिस खाएरै पनि उपवास बस्नसक्छ । उपवास वा व्रतमा खानु र नखानुको अर्थ गौण मात्र छ ।

गाउँ सहर डेस्क

तपाईँको मत