गाउँ सहर

दशैं सकाएर यात्रा गर्दै हुनुहुन्छ ? पानी परिरहेकाे छ, मौसमबारे जानकारी लिएर मात्र हिँड्नुस्

काठमाडौं । देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । वर्षा र ट्राफिक जामले काठमाडौँबाट आफ्नो घर जाने र बाहिरबाट काठमाडौँ भित्रिने तपाइँकाे यात्रा लम्बिने सम्भावना छ ।

आजैबाट दशैं पनि समापन हुँदैछ । सरकारी तथा निजी कार्यालय तथा संघ-संस्थाहरू सुचारू भइसके । दशैंकै भाेलीपल्टैदेखि धेरै मानिसहरू काठमाडाैं फर्कन थालेपनि दिनहुँ यात्रुकाे चाप बढ्दाे छ । तर दुई दिनदेखि देशका विभिन्न भागमा वर्षा भइरहेकाे छ । जसले गर्दा यात्रा गर्नेहरूका लागि अरूबेला जस्ताे सहज छैन । 

दशैंमा स-परिवार नै गाउँघर पुगेका हुनाले फर्कँदा नातिना-तिनादेखि हजुरबुबा-हजुरआमासम्म यात्रामा हुन सक्नुहुन्छ । त्यसैले यस्ताे बेला घरबाट यात्रा गर्दा यात्राकाे अवधि, पुग्नुपर्ने स्थानसम्मकाे बाटाेकाे अवस्था, ट्राफिक जामदेखि यात्राभरका लागि चाहिने सामान्य खानेकुरासमेतकाे जाेहाे गरेर हिँड्दा सहज हुनेछ । लामाे यात्रामा ट्राफिक जामदेखि पहिराेले पार्ने अवराेधले तपाइँकाे यात्रा अवधि लम्बिन पनि सक्नेछ । त्यसैले यतिबेला पूर्वतयारीका साथ बरू केही दिन ढीला किन नहाेस् माैसमकाे अवस्था पनि हेरेर यात्रा गर्नुहाेला ।  

पहाडी भेगमा हिमपातको सम्भावना, वर्षा कहाँ हुँदैछ?

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने विभागको प्रक्षेपण छ । साथै प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार भोलि बुधबार पनि देशभर पानी पर्नेछ । बिहीबारदेखि मौसम सफा रहनेछ । विभागले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम विभागकाअनुसार हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण आइतबारदेखि नेपालमा वर्षा भइरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत