स्वास्थ्य

बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटु रोगीको सङ्ख्या उचाे, कसरी जाेगिने ?

काठमाडाैँ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ । उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटु रोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ । नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । डा. रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तत्व रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिए ।

आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ । विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । नेपालमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग उपचार सेन्टर नहुँदा पनि देशभरका नागरिक काठमाडौँ आई उपचार गराउन बाध्य छन् ।

मुटु हाम्रो सु-स्वास्थ्यको पनि मुटु नै हो । व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।

साना नानीहरुलाई मुटुलाई खराब गर्ने खानपान र रहनसहनबाट टाढै राख्नुपर्छ । यो रोगको रोकथाम जरैबाट गर्न साना नानीदेखि नै राम्रो खाना, खेलकुद, फलफूल खाने, चिल्लो नखाने, नुन कम, व्यायाम, सुर्तीजन्य पदार्थ पूरा बञ्चित गर्ने, रक्तचाप, मधुमेह, वजन, मानसिक तनाव नियन्त्रणमा राख्ने, ध्यान प्राणायाम गर्ने, संगीत सुन्ने, दिक्क भएर नबस्ने, लोभ नगर्ने, ईर्ष्या नगर्ने, सबैको भलो गर्ने बानी बसालेमा मुटु रोग सँगसँगै अरु पनि धेरै रोगले सताउन सक्दैन । तसर्थ आफू र आफ्ना प्यारा परिवारका सदस्यहरु बालबच्चा र महिलाहरुलाई बचाउनु सबैको लागि अनिवार्य छ ।असल खाना खाने फलफूल, सागपात, चिल्लो, नुन कम, घरैमा बनाएका साधा खाना खाने । भुँडी फुलाएर नखाने ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणिय रहोस्, माथि उल्लेखित कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामयीक मृत्यूलाई रोक्न सकिन्छ ।

मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्वभरी सबैसमक्ष पूर्‍याउन शक्तिलाई विकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो । मुटु रोगबाट बच्न र बचाउन बिलासी जीवनबाट टाढा रहनु पर्ने उनीहरुको सुझाव छ । याे काेराेनाकालमा त झनै सावधानी अपनाउनु पर्ने छँदैछ ।

हृदयघातका लक्षणहरु :

१. छातीको बीच भागमा दुख्ने, गह्रौ बस्तुले थिचे जस्तो हुने 

२. छातीको दुखाई बायाँ हाततिर सर्नु 

३. पेटको बीचमा अत्याधीक दुखाई हुनु 

४. चिटचिट पसिना आउनु 

५. वाकवाकी लाग्नु तथा बान्ता हुनु 

६. डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु 

७. विशेष गरी मधुमेहका रोगी तथा वृद्धाहरुलाई अचानक असहज तथा स्वाँ–स्वाँ हुनु

८. वृद्धाले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु 

९. थोरै गतिविधि गर्दा पनि असहज र थकाई लाग्नु 

हृदयघातबाट बच्ने दश प्रमुख तरिकाहरुः

१. चुरोट र रक्सी–जाँडको सेवन पूर्णरुपमा बन्द गर्ने 

२. कोलेष्टेरोल नियन्त्रण गर्ने 

३. रक्तचापलाई नियन्त्रणमा राख्ने

४. मधुमेहको उचित उपचार

५. तौललाई नियन्त्रणमा राख्ने

६. स्वस्थ आहाराको सेवन (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने)

७. मानसिक तनाव र रिस कम गर्ने

८. प्रदुषणबाट बच्ने

९. दैनिक आधा घण्टा हिड्डुल गर्ने

१०. खानपानमा ध्यान दिने ।

गाउँ सहर संवाददाता

तपाईँको मत