राजनीति

एमाले परित्याग गरेका बामदेव गाैतमकाे अबकाे यात्रा कता ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको गाैतमले बताएका छन् ।

शुक्रबार नेता गाैतमले दिएको राजीनामा पत्रमा ओलीको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएपछि राजीनामा दिएको उल्लेख छ । 

"तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्मगर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो । त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो," गौतमले राजीनामा पत्रमा भनेका छन् । 

वामदेवले एमाले छाडेको यो दोस्रोपटक हो । २४ वर्ष पहिले उनकै नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो । तर, त्यसको तीन वर्षपछि उनी एमालेमै फर्किएका थिए ।

राजीनामा पत्रका गौतमकाे जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।

 राष्ट्रिय सभामा स्वतन्त्र सांसद गाैतमले एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला गौतमले पटकपटक माधव नेपालले पार्टी फुटाए साथ दिने अभिव्यक्ति दिएका थिए ।

एमालेभित्र विवाद उत्पन्न भएसँगै एमाले एकताको जिम्मा आफूलाई दिन गौतमले आग्रह गरेका थिए। तर ओलीले गौतमलाई कुनै भूमिका दिएका थिएनन् ।

माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गरेका थिएनन् ।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उनले बताउँदै आएका छन् । उनले एकीकृत समाजवादीमा आउन शर्त अघि सारेका छन् । बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका गौतमले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयताबारे पुनर्विचार गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।

अहिले ओलीप्रति वामदेव त्यस्तै आक्रामक देखिएका छन् । शुक्रबार ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा उनले ओलीकै चर्को आलोचना गरेका छन् । वामदेवले आधिकारिक रुपमा एकीकृत समाजवादीमा जाने घोषणा भने गरिसकेका छैनन् । तर, उनी अब त्योबाहेक अर्को पार्टीमा जाने अवस्था देखिँदैन । किनभने उनको निकट भनिएका अधिकांश नेता र कार्यकर्ता एकीकृत समाजवादीमा लागिसकेका छन् । गाैतमल पार्टीमा नेपाल र खनालपछि तेस्रो वरियतामा रहेर सहअध्यक्ष वा उपाध्यक्षमध्ये एक पद खाेजिरहेका छन् ।  

राजीनामापत्र :

 

गाउँ सहर डेस्क

तपाईँको मत