प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १९:११:०० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने बताएका छन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबारको बैठकमा उनले साे कुरा बताएका हुन् ।
उनले कोरोना विरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । उनले हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको जानकारी दिए ।
‘हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत) ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशत छ ।’ वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी दिए ।
सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनले बताए । जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।
प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उनले उल्लेख गरे ।
अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताए । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उनको भनाइ थियो ।
हाल काठमाडौं उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराए ।
न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस