प्रविधि

एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने

काठमाडाैँ। नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाअन्तर्गत ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ। ग्राहकको बढ्दो चासोलाई ध्यानमा राख्दै कम्पनीले नयाँ लाइन जडान तथा सेवासम्बन्धी जानकारी लिन प्रयोग हुने १९८ नम्बरको क्षमता समेत वृद्धि गरेको छ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबर जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आवश्यक जानकारी लिन सक्नेछन्। साथै, आफूलाई पायक पर्ने स्थानमा नयाँ लाइन जडानका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ। उक्त नम्बरमा कल गर्ने ग्राहकको चाप बढेपछि सेवा सहज बनाउन क्षमता विस्तार गरिएको कम्पनीले जनाएको छ।

यसैगरी, नेपाल टेलिकमले एनटी फाइबर जडानका लागि अनलाइनमार्फत पनि आवश्यक विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। ग्राहकले कम्पनीको अनलाइन पोर्टल https://complain.ntc.net.np/ मा लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर नयाँ जडानका लागि विवरण दिनुका साथै सेवासम्बन्धी गुनासोसमेत दर्ता गर्न सक्नेछन्।

नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ। यसबाहेक ग्राहकको आवश्यकता र छनोटअनुसार विभिन्न प्याकेजसमेत उपलब्ध रहेका छन्।

इन्टरनेट तथा दूरसञ्चार सेवाको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै नेपाल टेलिकमले एनटी फाइबर सेवाको पहुँच विस्तार र ग्राहकलाई सेवा प्राप्त गर्ने प्रक्रिया सहज बनाउन विभिन्न माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ। ग्राहकले फोन वा अनलाइन पोर्टलमार्फत आवश्यक जानकारी लिएर नयाँ जडानका लागि प्रक्रिया अघि बढाउन सक्नेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत