खेल

नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर

काठमाडौँ। नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को अफिसियल टेलिकम पार्टनर बनेको छ। आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारी सम्झौता भएको हो।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल र नेपाल क्रिकेट संघका तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता आदानप्रदान गरिएको हो।

सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत दिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै एनपीएलसँगको सहकार्यले नेपाली क्रिकेटको संस्थागत विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार यो साझेदारी कम्पनीको ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली क्रिकेटको विकास, खेल क्षेत्रको विस्तार तथा संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने अवसरसमेत हो।

नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेटलाई थप अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यस्तो सहकार्यले क्रिकेटको विकाससँगै खेलाडीको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरे।

नेपाली खेलकुद क्षेत्रको संवर्द्धन तथा प्रवर्द्धन गर्ने सरकारी नीतिलाई यस किसिमको सहकार्यले थप टेवा पुग्ने नेपाल टेलिकमको विश्वास छ।

एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएको सन्दर्भमा नेपाल टेलिकमले नेपाल क्रिकेट संघलाई बधाईसमेत दिएको छ।

राष्ट्र निर्माण हाम्रो लक्ष्य भन्ने मूल नारासहित अघि बढिरहेको नेपाल टेलिकमले राष्ट्रिय खेलकुदको विकास र प्रवर्द्धनमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत