कांग्रेसकाे गाउँ-नगरको कार्यसमिति चुन्ने व्यवस्थामा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०७८ | १२:०८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्रै मतदाता हुन पाउने गरी विधानमा संशोधन गरेको छ ।
विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले उक्त निर्णय गरेको हाे । यसअघि कांग्रेसको विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ-नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ।
सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन् । यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ कांग्रेसले भनेको छ ।
यो संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने कांग्रेसको तयारी छ ।
यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ ।
अब वडा सभापति र क्षेत्रीय प्रतिनिधिले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वबारे निर्णय गर्न सक्नेछन् ।
कांग्रेस महाधिवेशन गराउने निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिका केन्द्रीय सदस्यहरुको सुझाव समेट्ने गरी पारित भएको हो । कांग्रेसले समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई परिमार्जनको जिम्मा दिएको हो । उनीहरुले भदौ १ गते निर्देशिकामा परिमार्जन गरेर भदौ २ गते पार्टी सभापतिलाई बुझाउनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ । छैटौं पटक सार्वजनिक कार्यतालिकाका अनुसार वडा अधिवेशन भदौ १८ गते हुनेछ भने पालिका अधिवेशन भदौ २७ र प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते हुने छ ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गर्ने कार्यतालिकामा उल्लेख छ । त्यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने कांग्रेसले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस